१२ साउन २०८१, शनिवार

ओलीद्वारा एसियाली राजमार्गको काँकडभिट्टा–लौकही सडकको शिलान्यास

९ जेठ २०८१, बुधवार
Image

झापा, ९ जेठ  पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एक समारोहबीच एशियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्नु भएको छ ।

झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै उहाँले विदेशमा जस्तै चार लेनको चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताउनुभयो ।

उहाँले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने र आर्थिक विकासको नयाँ नयाँ अवसर सिर्जना हुने बताउनुभयो । “उत्पादन र रोजगारीसँग जोड्ने भएकाले एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

शिलान्यास कार्यक्रममा बोल्दै उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताउनुभयो । 

उहाँले राजमार्गको निर्माण विश्वस्तरीय हुने र निर्माण सम्पन्न भएको छ वर्षसम्म निर्माण कम्पनीले नै मर्मतसम्भारको जिम्मेवारी वहन गर्ने सम्झौता रहेको जानकारी दिनुभयो । 

भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थानविन्दु काँकडभिट्टाको ५०० मिटर भित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकेको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ । अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५.७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुवात भएको छ ।

एएचटु नाम दिएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैंकको सहयोगमा बन्ने भएको हो । यस आयोजनाका लागि एसियाली विकास बैंकले ३०० मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ भने नेपाल सरकारले ६२.४७ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।

सडक विभागको आयोजना निर्देशनालय (एडीबी) मातहत निर्माण हुने यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहेको आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर लम्बाई भएको पूर्वी खण्ड रहेको छ भने केरखादेखि इटहरीसम्मको ५०.७६ किलोमिटर पश्चिम खण्ड रहेको छ ।

गत कार्तिक २ गते ठेक्का सम्झौता भएको यो राजमार्गको निर्माण कार्य अजरबैजान र चिनियाँ निर्माण कम्पनीले नेपाली कम्पनीसँग मिलेर गरिरहेको छ । वि.सं. २०८३ माघ १९ गते अर्थात् तीन वर्षभित्र निर्माण गरिसक्नु पर्ने सम्झौता रहेको छ ।

राजमार्ग निर्माण क्रममा ५२ वटा पुल, २८९ वटा कल्भर्ट, १० वटा सवारी गुड्ने ओभरपास, तीन वटा पैदल ओभरपास, १८ वटा पैदलयात्री अन्डरपास र १२ वटा एनिमल क्रसिङ ब्रिज बनाइने पन्तले जानकारी दिनुभयो ।