१२ साउन २०८१, शनिवार

मेचीनगरमा सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन

१० जेठ २०८१, बिहिवार
Image

मेचीनगर, १० जेठ । मेचीनगरबासीले आत्महत्या न्यूनीकरणका लागि ठोस कार्यक्रम ल्याउन मेचीनगर नगरपालिकालाई आग्रह गरेका छन् ।

आज काँकरभिट्टाको मेची सामुदायिक भवनमा आयोजित अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मेचीनगरमा पछिल्लो समय आत्महत्याका घटनामा वृद्धि भएको र बालबालिका समेत यसको शिकार हुन थालेकोमा चिन्ता व्यक्त गरे ।

उनीहरुले यसको रोकथाम तथा न्यूनीकरणका लागि नगरपालिकाले ठोस कार्यक्रम ल्याउनु पर्ने लगायतका सुझाव राखेका छन् ।

अभियन्ता देबेन्द्र खरेलको पहलमा सामाजिक सञ्जालमा सूचना गरे अनुसार स्वस्फूर्त आयोजित भेलाले खरेलकै संयोजकत्वमा मेचीनगर सामुदायिक मानसिक स्वास्थ्य सरोकार समिति गठन गरेको छ ।

समितिले मेचीनगर नगरपालिकाको नेतृत्वसँग आत्महत्या रोकथाम तथा न्यूनीकरणका बारेमा चाल्नु पर्ने कदमका बारेमा छलफल गर्ने भएको छ ।

आज भएको भेलाले मेचीनगरमा परिवार, अभिभावक र विद्यार्थी लक्षित सेचतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष निकालेको संयोजक खरेलले बताउनुभयो ।

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईले एक वर्षमा मेचीनगरमा ६१ जनाले आत्महत्या गरेको बताउनुभयो । जसमध्ये ११ जना बालबालिका रहेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि रञ्जु थापा, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, पत्रकार मोहन काजी र जीएन शर्मा, बाल अधिकारकर्मी मणिकुमार सुब्बा, दीपा खरेल, कृष्ण सुबेदी, जितबहादुर सुब्बा, पुष्कर ढकाललगायतले आफ्ना धारणा राख्नु भएको थियो ।