१२ साउन २०८१, शनिवार

शिवसताक्षीमा नगर अस्पताल सञ्चालनको तयारी

१२ जेठ २०८१, शनिवार
Image

झापा, १२ जेठ । शिवसताक्षी नगरपालिकामा सुविधा सम्पन्न र आधुनिक १५ शैयाको नगर अस्पताल निर्माण भएको छ । चालु आर्थिक बर्षभित्रै अस्पताल सञ्चालनका तयारी छ ।

शिवसताक्षी नगरपालिका–६ मा रु. १० करोड ६७ लाखमा ठेक्का लागेर पाँच बर्षपछि डेढ विगाह जमिनमा निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ । यस अस्पतालबाट दक्षिण क्षेत्रका पालिकाहरु गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरुले उपचार पाउने नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले बनाउनुभयो । 

सुविधा सम्पन्न अस्पतालका लागि ३० जनाको दरबन्दी रहने गरी मन्त्रालयले संगठानात्मक स्वरुप पठाइसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा चार जना मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीले अस्पतालबाट सेवा दिनेछन् । विभिन्न स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको नगर अस्पतालबाट २४ घण्टा सेवा उपलब्ध गराउने उहाँले बताउनुभयो । 

नगर अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बाहिर जानेहरु आफ्नै गाउँमा उपचारमा पाउनेमा ढुक्क छन् । नगरवासीकै आग्रह अनुसार स्थापना गरिएको नगर अस्पतालले पालिकाको दक्षिणी भागलाई समेट्ने छ । आधारभुत देखि ठुला समस्याहरुको समेत समाधान गर्न सक्ने नगर अस्पताल नगरको अर्को गौरवको आयोजना हो ।

अस्पतालमा विद्युत, पानी र कोठाहरुको मात्र व्यवस्थापन गर्न बाँकी रहेको छ । उहाँका अनुसार चालु आर्थिक बर्षभित्रमै अस्पताल सञ्चालनमा ल्याइने तयारी छ । 

यस अघि विर्तामोड, कनकाई, दमक, बुद्धशान्ति र अर्जुनधारा नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याइसकेका छन् ।