१२ साउन २०८१, शनिवार

संसद्मा अवरोधको पछाडि समीकरण भत्काउने नियत : एमाले महासचिव पोखरेल

१३ जेठ २०८१, आइतवार
Image

झापा, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । उहाँले संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको बताउनुभयो ।

पार्टीको बिर्तामोड नगर कमिटीको आज आयोजित दोस्रो नगर अधिवेशनमा बोल्दै उहाँले मुलुकलाई राजनीतिक अस्थिरताको भड्खालोमा लैजान कांग्रेसले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाउनुभयो ।

उहाँले आगामी आम निर्वाचनमा कसैको पनि बैशाखी नटेकी सुविधाजनक बहुमतको सरकार गठन गर्ने अवस्थामा पार्टीलाई पुर्याउन कार्यकर्ताले अहिलेदेखि नै परिचालित हुनुपर्ने बताउनु भयो । उहाँले सही विचार र सही लक्ष्य बोकेको कारण एमाले अहिले मुलुकको सबैभन्दा बलियो र एकताबद्ध राजनीतिक शक्ति बनेको बताउनुभयो । 

“तपाईहरु ठिक ढंगले पार्टी काममा लाग्नुहोस्, आगामी आम निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउन कसैको पनि बैशाखी टेक्नु पर्दैन,” कार्यकर्ताहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो–“राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग र संघर्षको खाँचो छ ।”

कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र पपुलिजमको नारा लगाउने दुबैखाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको उहाँले दावी गर्नुभयो ।

पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

झापाका चार पालिकामा नेतृत्व चयन

नेकपा एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ । 

मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटिको अध्यक्षमा मेदनी दंगाल निर्वाचित हुनुभएको छ ।

यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित हुनु भएको छ ।