२३ भदौ २०८१, आइतवार

महासंघले छानी छानी नाम हटाएपछि चौतारी आन्दोलित

१४ जेठ २०८१, सोमवार
Image

झापा, १४ जेठ । नेपाल पत्रकार महासंघको नेतृत्वले सक्रिय पत्रकारहरुलाई छानी छानी सदस्यबाट हटाउने पक्षपातपूर्ण गतिविधि गरेको भन्दै प्रेस चौतारी आन्दोलित भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको हस्ताक्षर र महासंघको छाप भएको सदस्य सूची आइतवार राति बाहिरिएको थियो । त्यसमा प्रेस चौतारीका सदस्यहरुलाई हटाइएको र नेपाल प्रेस युनियनका सदस्यहरुलाई रातारात थपिएको भेटिएको जनाउँदै चौतारी देशभर आन्दोलित भएको हो ।

उक्त सूचीमा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष एवम् प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल समेतको नाम हटाइएको पाइएको छ । पोखरेल विर्तामोडको भिजन रेडियोमा कार्यरत हुनुहुन्छ ।

झापाका चौतारी आवद्ध सावित्रा दाहाल, लक्ष्मी उप्रेती, मिनप्रकाश उप्रेती, सागर गौतम, याम बिमली, हेमन्त निरौला लगायत दर्जनौं क्रियाशील पत्रकारहरुको नाम सदस्यको सूचीबाट हटाएको पाइएको चौतारीले जनाएको छ । 

प्रेस चौतारी झापाले विरोध स्वरुप आज अपराह्न नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा तालाबन्दी गरेको छ ।

चौतारी झापाले आजै प्रेस विज्ञप्ति जारी गरी शुद्धीकरणको बहानामा चौतारी आवद्ध क्रियाशील पत्रकारहरुलाई आस्थाको आधारमा विभेद गरिएको हुँदा तालाबन्दी गर्नुपरेको जनाएको छ ।

अध्यक्ष मनकुमार गदालद्वारा जारी विज्ञप्तिमा त्रुटिपूर्ण सूची सच्याएर छुटेका नाम समावेश नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

पत्रकार महासंघ झापाको मूलढोकामा ताला लगाउने कार्यक्रममा चौतारीका झापा अध्यक्ष गदाल र जिल्ला इञ्चार्ज अर्जुन कार्कीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्कीले त्रुटी नसच्याई ताला नखोल्न महासंघलाई चेतावनी दिनु भएको छ ।

प्रेस चौतारीले आन्दोलनप्रति ऐक्यबद्धता जनाउन पत्रकारका सबै संघ संगठनलाई अपिलसमेत गरेको छ ।