२ कार्तिक २०८१, शुक्रवार

धुलाबारी र इटाभट्टामा हावाहुण्डरीले व्यापक क्षति

१६ जेठ २०८१, बुधवार
Image

मेचीनगर, १६ जेठ । भीषण हावाहुण्डरीले मेचीनगरको वडा नं. ७ र १० मा व्यापक क्षति पुर्याएको छ ।

गएराति वर्षा र चट्याङसहित मेचीनगरमा वर्षा भएको थियो । विभिन्न स्थानमा बिजुलीका खम्बा ढलेका कारण रातिदेखि नै विद्युती आपूर्ति बन्द रहेको छ । 

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छानो हुण्डरीले उडाएको छ भने आसपासका बस्तीमा थुप्रै घरमा क्षति पुगेको छ ।

मेचीनगर–१० को खयरडाँगीमा एक दर्जनभन्दा बढी घरमा हावाहुण्डरीले क्षति पुर्याएको छ । केही घरको टिनको छाना उडाएर दुई सय मिटर टाढासम्म पुर्याएको छ ।

धुलाबारी इलाका प्रहरी कार्यालयको व्यारेकको फल्स सिलिङसहित छानो उडाएको छ भने क्यान्टिनको छानो उडाएको छ ।

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको धुलाबारीस्थित घरमा पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले मेचीनगर क्षेत्रमा मात्र क्षति पुगेको जानकारी आएको बताउनुभयो । उहाँले क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो ।

पूर्वपश्चिम राजमार्ग र मेचीनगरको वडा नं. ७ र १० का भित्री सडकमा विद्युतका खम्बाहरु ढलेका छन् । सडक किनार र निजी जग्गाका कयौं रुखहरु हुरीले ढलेका छन् ।