२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरमा हावाहुण्डरीले रु. दुई करोडभन्दा बढीको क्षति

१६ जेठ २०८१, बुधवार
Image

झापा, १६ जेठ । गएराति बर्षा र चट्याङसहित तीब्र गतिमा आएको हावाहुण्डरीले मेचीनगर नगरपालिकामा रहेका उद्योग र निजी घरमा रु. दुई करोडभन्दा बढीको धनमाल क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुण्डरीले विजुलीको खम्बा ढालेपछि रातिदेखि मेचीनगर क्षेत्रको विद्युत आपूर्ति समेत बन्द छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले राति १ बजेतिर आएको हावाहुण्डरीले मेचीनगरको वडा नं. ७, ८ र १० मा क्षति पुर्याएको बताउनुभयो ।

उहाँका अनुसार हावाहुण्डरीले सो क्षेत्रको सयौं घरको छाना उडाएको, विद्युतका खम्बाहरु ढालेको, विद्यालयको छानो भत्काएको, सडक र निजी जग्गाका रुखहरु ढलेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ ।

मेचीनगर नगरपालिका–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिबिनायक भेनियर उद्योग र शिवम् प्लाई उद्योगको जस्ता पाताको छाना उडाएर क्षति पुर्याएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दका अनुसार डिल्लीराम श्रेष्ठ सञ्चालक रहनु भएको जयश्री हलेसी भेनियर उद्योगमा रु. एक करोड बढीको क्षति भएको छ । उहाँले उद्योगमा तयारीमा अवस्थामा रहेको सात ट्रक भेनियर पत्ता, टिनको छाना र बेरा भएको उद्योग भत्किएको जानकारी दिनुभयो । 

श्याम न्यौपाने सञ्चालक रहनु भएको सिद्धिविनायक भेनियर उद्योग रु. १० लाख क्षति पुगेको उहाँले जानकारी दिनुभयो । यसैगरी खेम प्रसाई सञ्चालक रहनु भएको शिवम् प्लाई उद्योगमा रु. एक करोड ५० लाख बराबरको भौतिक क्षति पुगेको उहाँले बताउनुभयो ।

मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको जोरसिमलस्थित घरको छानो हुण्डरीले उडाएको छ भने आसपासका बस्तीमा दर्जनौं घरमा क्षति पुगेको छ । धुलाबारी इलाका प्रहरी कार्यालयको व्यारेकको फल्स सिलिङसहित छानो उडाएको छ भने क्यान्टिनको छानो उडाएको छ ।

मेचीनगर–८ इटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयको जस्ता पाताको छानो हुण्डरीले क्षति पुर्याएको छ । मेचीनगर–१० का मेदनी खरेलको घरको जस्ता पाता उडाउँदा रु. ५० हजार र राधिका राजबंशीको टिनको छानो भएको घर र पसलमा रु. एक लाख बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।