१२ साउन २०८१, शनिवार

कांग्रेसले भन्यो–‘शिक्षक मृत्यु घटनाको छानविन हुनुपर्छ’

१६ जेठ २०८१, बुधवार
Image

मेचीनगर, १६ जेठ । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ ले खोलाको अबैध उत्खननका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर शिक्षकको मृत्यु भएको घटनाको छानविन हुनुपर्ने माग गरेको छ ।

पार्टीका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले मंगलवार जारी गर्नु भएको प्रेस विज्ञप्तिमा उक्त माग गरिएको हो ।

खोलाको अबैध उत्खनन भइरहेको अवस्थामा नगरपालिकाले प्रभावकारी अनुगमन गर्न नसकेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले अबैध उत्खननको लापरवाहीका कारण नै शिक्षकको मृत्यु भएको ठहर गरेको छ ।

मेचीनगर–३ स्थित निन्दा नदीमा दुई छोरा साथमा लिएर जानु भएको शिक्षक धनराज भण्डारीको मंगलवार खोलाको गहिरो पानीमा डुबेर मृत्यु भएको थियो । जेठो छोरा पौडी खेल्ने क्रममा गहिरो पानीमा डुबेपछि भण्डारीले जसोतसो उद्धार गर्नु भएको थियो । तर, उहाँ भने डुबेर बेहोश हुनुभएको थियो ।

उपचारकै क्रममा बीएन्डसी हस्पिटलमा उहाँको निधन भएको थियो ।

नेपाली कांग्रेसले बिगतमा मेचीनगरमा स्कुलको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएको, नगर कार्यालयभित्र कर्मचारी र सेवाग्राहीमाथि हातपात भएको घटना समेत स्मरण गराउँदै आइन्दा यस्ता अप्रिय घटना हुन नदिने वातावरण बनाउन माग गरेको छ ।