२३ भदौ २०८१, आइतवार

एसियाली राजमार्ग

पूर्वी खण्डमा १० वटा पुल र ६५ कल्भर्ट निर्माण धमाधम

१७ जेठ २०८१, बिहिवार
Image

झापा, १७ जेठ । एसियाली राजमार्गको रुपमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–केरखा खण्डमा १० वटा पुल र ६५ वटा कल्भर्टको निर्माण धमाधम भइरहेको छ ।

एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले स्तरोन्नति गरिरहेको काँकडभिट्टा–लौकही खण्डको ९५.७६ किलोमिटर सडकलाई पूर्वी, मध्य र पश्चिमी गरी तीन खण्डमा अलग अलग ठेक्का लगाएर निर्माण कार्य भइरहेको छ ।

जसमध्ये पूर्वी खण्डको ४५ किलोमिटर सडकमा पुल, कल्भर्ट र माटो भर्ने कार्य धमाधम भइरहेको एभ्रास्कन–कालिका जेभीका कन्ट्रयाक्ट मेनेजर उज्ज्वल प्रसाईले बताउनुभयो । पूर्वी खण्डको पुल र सडक निर्माणको ठेक्का एभ्रास्कन–कालिका जेभीले लिएको छ ।

पूर्वी खण्डमा १८ वटा पुल र १४३ वटा बक्स कल्भर्ट निर्माण हुने भएको छ । हाल पाँच वटा पुलको पाइल फाउन्डेसनको कार्य सकिएको र अरु पाँच वटामा धमाधम भइरहेको कन्ट्रयाक्ट मेनेजर प्रसाईले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षभित्रै पुलको पाइल फाउन्डेसन र कल्भर्टको दुई किनाराको फाउन्डेसन सक्ने कम्पनीको योजना रहेको उहाँले बताउनुभयो । द्रुत गतिमा काम सम्पन्न गर्ने लक्ष्यका साथ हाल एकैचोटी ६५ वटा निर्माणस्थलमा बक्स कल्भर्टको दुई किनाराको फाउन्डेसन निर्माण भइरहेको उहाँको भनाई छ ।

“पुल र कल्भर्टको फाउन्डेसनमा हाम्रो जनशक्ति र उपकरणलाई केन्द्रित गरिरहेका छौं,” उहाँले भन्नुभयो–“बर्खापछि राजमार्गको आवागमनलाई अवरोध नहुने गरी दुई किनाराबाट सवारी ओहोरदोहोरको व्यवस्था मिलाएर हालको कालोपत्रे भाग भत्काएर नयाँ निर्माण थाल्नेछौं ।”

बर्खा अघि नै कल्भर्टको दुई किनारा बनाइसक्ने र बर्खापछि उत्तर र दक्षिण किनाराबाट यातायातका साधन ओहोरदोहोर हुनसक्ने गरी अस्थायी सडक निर्माण गरिने उहाँले जानकारी दिनुभयो । दुईतर्फी किनारबाट यातायात सुचारु भइसकेपछि मात्र हाल राजमार्ग रहेको बीचको भाग भत्काएर नयाँ बनाइने भएको छ । त्यसो हुँदा राजमार्गमा निर्माणका कार्यका कारण यातायात अवरोधको सम्भावना हुँदैन ।

किनारबाट यातायात सञ्चालनका लागि सडक बनाउनका अहिले माटो भर्ने कार्य धमाधम भइरहेको छ । डेढ लाख घनमिटर माटो भर्ने कार्य सकिएको र त्यसलाई रोलर मेसिनले सम्याएर सडकको स्वरुप दिने कार्यलाई प्राथमिकता दिइएको समेत उहाँले बताउनुभयो ।

निर्माण कम्पनीले राजमार्ग स्तरोन्नतिको कार्य सुरु गर्नु अघि सडक क्षेत्रका सबै रुख काटेको छ । पूर्वी खण्डमा रुख काट्ने कार्य ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।