१२ साउन २०८१, शनिवार

स्वास्थ्य

दुई वर्षपछि बीएन्डसीमा फेरि सुरु भयो स्वास्थ्य बीमा

१८ जेठ २०८१, शुक्रवार
Image

झापा, १८ जेठ । विर्तामोडको बीएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन हुने भएको छ ।

दुई वर्षअघि २०७९ साउन १ गते बीएन्डसीले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको थियो । स्वास्थ्य बीमा बोर्डले उपचारको शोधभर्ना रकमको भुक्तानी लामो समय अड्काएर राखेपछि हस्पिटलले बीमामार्फत उपचार रोकेको थियो ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिर्तामोडको बीएन्डसीसहित देशभरका १० वटा मेडिकल कलेजमा कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गरिएको बताउनुभयो ।

बीएन्डसीसँगै विराटनगरको नोवेल मेडिकल कलेज र बिराट मेडिकल कलेजमा पनि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने लोहनीले जानकारी दिनुभयो ।

विर्तामोडको विर्ताज्योाति आइकेयर हस्पिटलले पनि बीमा कार्यक्रम सञ्चालनको स्वीकृति पाएको छ । बोर्डले केही समय अघि नै स्वीकृति दिने प्रक्रिया पूरा गरे तापनि सरकारको बजेट आउञ्जेल पर्खिएको थियो ।

बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले गत महिना नै बीमा कार्यक्रम पुनः सञ्चालन हुन लागेको जानकारी दिनु भएको थियो । 

यसअघि बीमा कार्यक्रम लागू हुँदा बीएन्डसी हस्पिटलमा सेवाग्राहीको थामीनसक्नु घुइँचो लाग्ने गरेको थियो । अत्याधुनिक चिकित्सा उपकरण र दक्ष चिकित्सकको उपलब्धताका कारण बीएन्डसीमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा लिन सर्वसाधारणले अधिक रुचि देखाउने गरेका थिए ।