२ कार्तिक २०८१, शुक्रवार

आत्महत्या न्यूनीकरणका कार्यक्रम ल्याउन सरोकार समितिको माग

२१ जेठ २०८१, सोमवार
Image

मेचीनगर, २१ जेठ । सामुदायिक मानसिक स्वास्थ्य सरोकार समितिले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएर आत्महत्या न्यूनीकरणका कार्यक्रम ल्याउन माग गरेको छ ।

समितिका संयोजक देबेन्द्र खरेलको नेतृत्वमा नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई आइतवार बुझाइएको ज्ञापन पत्रमा मेचीनगर क्षेत्रमा आत्महत्याको दर वर्षेनी बढिरहेको र नागरिकमा भयावह त्रास व्याप्त रहेको स्मरण गराइएको छ ।

आत्महत्या जस्तो सम्बवेदनशील समस्याका विषयमा सामाजिक जिम्मेवारीबोध गरिदिन आग्रह गर्दै समितिले रोकथाम एवम् न्यूनीकरणका लागि गर्न सकिने कार्यक्रमहरुको सुझाव समेत प्रस्तुत गरेको छ ।

समितिको सुझावमा सामुदायिक स्वास्थ्य केन्द्रमार्फत मनोचिकित्सक सेवा दिन सकिने, संकटमोचन टोलीहरु खटाउन सकिने, सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न सकिने, तनाव व्यवस्थापन सम्बन्धी कार्यशाला गर्न सकिने, टोल टोलमा पुगेर अभिभावक तथा किशोरकिशोरीलाई सामाजिक तथा पारिवारिक जिम्मेवारीका बारेमा काउन्सिलिङ गर्न सकिने, विद्यालयहरुमा कार्यक्रम गर्न सकिने र चौबीसै घण्टा परामर्श एवम् सहायता उपलब्ध हुने हेल्पलाइन सेवा प्रदान गर्न सकिने उल्लेख गरिएको छ ।

समितिको ध्यानाकर्षणलाई नगरपालिकाकी उपप्रमुख उप्रेतीले सकारात्मक रपमा लिनु भएको र आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको समितिका संयोजक खरेलले बताउनुभयो ।

समितिको प्रतिनिधिमण्डलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई भेटेर मेचीनगरमा आत्महत्याका घटना भयावह रुपमा बढिरहेको विषयमा चिन्ता व्यक्त गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले पनि समितिको सुझाव मननीय रहेको जनाउँदै नगरपालिकाले आवश्यक कार्यक्रम ल्याउने बचनबद्धता व्यक्त गर्नुभएको खरेलले बताउनुभयो ।