१२ साउन २०८१, शनिवार

स्वास्थ्य

ओमसाई पाथिभरा हस्पिटलमा एमआरआई मेसिन

२७ जेठ २०८१, आइतवार
Image

झापा, २७ जेठ ।  भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ ।

जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताउनुभयो । मेसिन जडान गर्न एक साता लाग्ने र त्यसपछि नियमित प्रयोगमा ल्याइने उहाँले जानकारी दिनुभयो ।

झापामा यसअघि विर्तामोडस्थित बीएन्डसी टिचिङ हस्पिटलमा मात्र एमआरआई सेवा उपलब्ध रहेको थियो । विर्तामोडमा यो सेवा सुरु भएपछि एमआरआई सेवा लिन भारत धाउनु पर्ने बाध्यता हटेको थियो ।

ओमसाई पाथिभरा हस्पिटलले उपचार सेवालाई थप गुणस्तरीय, प्रविधियुक्त र विस्तारित गर्नका लागि रु। एक अर्ब १५ करोड लगानी थप्ने योजना बनाएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

हाल एक सय शैयाको उक्त हस्पिटललाई आगामी एक वर्षाभित्र ३०० शैयामा विस्तार गर्नका लागि सरकारसँग २०० शैया थप्न अनुमति मागिसकेको उहाँले जानकारी दिनुभयो ।

डेढ दशकअघि सञ्चालनमा आएको हस्पिटलले आगामी आर्थिक वर्षको सुरुदेखि आँखा उपचारको विशिष्ट सेवा समेत प्रदान गर्ने भएको छ । यसका लागि रु। ३५ करोड लगानी गरेर जाँच उपकरण ल्याइसकेको उहाँले बताउनुभयो ।

मुटु र मिर्गौलाको उपचार गर्नका लागि रु। ८० करोड लगानी गरिएको र एक वर्षभित्रै सेवा सुरु गरिने हस्पिटलले जनाएको छ । भद्रपुरमा रहेको प्रादेशिक अस्पतालमा भने एमआरआई सेवा छैन । यहाँ सीटी स्क्यान सेवा मात्र उपलब्ध छ ।