२ कार्तिक २०८१, शुक्रवार

झापाका अग्रज पत्रकार एवम् शिक्षासेवी पाठकको निधन

३१ जेठ २०८१, बिहिवार
Image

मेचीनगर, ३१ जेठ । झापाका अग्रज पत्रकार तथा शिक्षासेवी नेत्रप्रसाद पाठकको आज ७२ वर्षमा निधन भएको छ ।

प्रेस चौतारी नेपालको झापा शाखाको संस्थापक अध्यक्ष एवम् नेपाल राष्ट्रिय शिक्षक संगठनका कुशल संगठक पाठकको विर्तामोड–४ स्थित निजी निवासमा आज विहान ९ः३० बजे निधन भएको थियो ।

उहाँको पत्नी सीता पाठक, छोरा विज्ञान पाठक, बुहारी हिमा पाठक, छोरी एलिजा पाठक र एक नाति रहेका छन् । उहाँ लामो समयदेखि दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै बसेर औषधि सेवन गर्दै आउनु भएको थियो ।

छोरा विज्ञान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेको कारण आइपुग्न केही ढिला हुने भएकाले उहाँको अन्त्येष्टी सम्भवतः शुक्रवार हुने बताइएको छ ।

राजधानीबाट प्रकाशित छलफल लगायत विभिन्न पत्रपत्रिकामा जनपक्षीय पत्रकारिता गर्नु भएको उहाँ पछिल्लो समय स्वाधीन सम्बाद साप्ताहिकमा आवद्ध हुनुहुन्थ्यो ।

जुझारु, मिलनसार र वैचारिक रुपमा निष्ठावान उहाँ प्रेस चौतारी झापाको तर्फबाट नेपाल पत्रकार महासंघ झापाको अध्यक्ष पदको उम्मेद्वार समेत बन्नुभएको थियो ।

लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि उहाँले पत्रकारिता र शिक्षक संगठनको माध्यमबाट पुर्याउनु भएको योगदान स्वर्ण अक्षरले लेखिनेछ । त्यस क्रममा उहाँले पञ्चायती शासनकालमा सत्ताको थुप्रै दमन र अत्याचार व्यहोर्नु भएको थियो ।