२३ भदौ २०८१, आइतवार

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर ४ जनाको मृत्यु

१ असार २०८१, शुक्रवार
Image

झापा, ३२ जेठ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फक्तालुङ- २  खेजिनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको हो ।

फक्ताङलुङ–२ खेजेनिममा राती घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पहिरोमा परेर बुबा ७१ वर्षीय राम बहादुर लिम्बु, आमा जसमाया लिम्बु र बहिनीहरु १२ वर्षीया गंगा लिम्बुर जमुना लिम्बुको मृत्यु भएको हो ।

जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बु भने घरबाहिर रहेकाले  जोगिएको गाउँपालिका अध्यक्ष  राजन लिम्बुले  बताउनुभयो ।


ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यका अनुसार राती २ बजे पहिरो खसेका कारण घरमै पुरिएका हुन् । उहाँले घटनास्थलमा प्रहरी पुगेर क्षतिको विवरण संकलन गरिरहेको बताउनुभयो ।


पहिरोले अन्य दुई वटा घरहरू समेत पूर्ण रुपमा क्षति भएको र एउटा घरमा आंशिक क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।

बुधबार रातिमात्रै ताप्लेजुङकै सिसेवा र सिस्ने खोलामा आएको बाढीले त्यस क्षेत्रमा चारवटा अस्थायी पुल बगाउँदा यातायात अवरुद्ध भएको जनाइएको छ ।