२ कार्तिक २०८१, शुक्रवार

तीस वर्षपछि राईसिंह खोलामा बन्यो पक्की पुल

२ असार २०८१, शनिवार
Image

झापा, १ असार । मेचीनगर नगरपालिकाको वडा नं. २ र ४ का बासिन्दाले तीन दशकदेखि माग गर्दै आएको राइसिंह खोलामा पक्की पुल निर्माण भएको छ । रु. सात करोड २६ लाखको लागतमा रोशन सफल जेभीले पुलको निर्माण सम्पन्न गरेको हो ।

हात्ती प्रभावित साविक बाहुनडाँगीको बजार र भृकुटी क्षेत्रलाई जोड्ने पुलको निर्माणका लागि वि.सं. २०५१ सालदेखि पहल जारी थियो । एक दशक अघि रु. ४० लाखको लागतमा तत्कालीन जिल्ला विकास समितिले राइसिंह खोलामा पुल निर्माण थालेर बजेट अभावमा अलपत्र थियो । 

पुलको खम्बा गाडिसकेपछि अलपत्र परेको पुलको उक्त संरचनाभन्दा केही उत्तरतिर वि.सं. २०७७ सालमा अर्को पुलको निर्माण सुरु गरिएको थियो । लामो समयपछि पुल बनेकोमा स्थानीय बासिन्दा हर्षित भएका छन् ।

दोस्रो पुलको निर्माण कार्य वि. सं. २०७७ वैशाख २४ गते सुरु भएको थियो । जसको शिलान्यास तत्कालीन प्रतिनिधिसभा सदस्य राम कार्कीले गर्नु भएको थियो । निर्माण कम्पनी रोशन सफल जेभीले चालू आर्थिक वर्षको माघ २९ गते पुलको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको जनाएको छ ।

निर्माण भइसकेपछि भुक्तानी बक्यौताको कारण पुलको हस्तान्तरण हुन सकेको छैन । ठेक्का सम्झौता बमोजिमको रु. एक करोड ५० लाख पाउन बाँकी रहेको हुँदा सरकारलाई पुल हस्तान्तरण प्रक्रियामा बिलम्ब भएको रोशन सफल जेभीका सञ्चालक प्रतिक भट्टराईले बताउनुभयो ।

एकपटक म्याद थपेर निर्माण कम्पनीले काम सम्पन्न गरिसके तापनि बजेट अभावका कारण पूरा भुक्तानी दिन नसकिएको कोशी प्रदेशको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

“भुक्तानी बक्यौताका कारण पुल हस्तान्तरणमा ढिलाई भएको हो,” कोशी प्रदेश पूर्वाधार विकास कार्यालयका अधिकृत सुरेन्द्रप्रसाद साहले भन्नुभयो–“बजेट अपुग भएको हो । काम भइसकेपछि भुक्तानी नदिने कुरा होइन । चालू आवभित्रै भुक्तानी दिएर निर्माण व्यवसायीबाट पुल हस्तान्तरण हुने वातावरण मिलाउँदैछौं ।”

मेचीनगरको हात्ती प्रभावित बाहुनडाँगीका १८ हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभग्राही रहेको राईसिंह खोलामा पक्की पुल बनाउन बिगत तीन दशकदेखि पहल हुँदै आएको थियो ।

साविक बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले जंगली हात्तीको पीडा खेपिरहेका बाहुनडाँगीका बासिन्दाले राइसिंह खोलामा पक्की पुल बनाउन तीस वर्ष पर्खिनु परेको बताउनुभयो । “वि.सं. २०५१ सालमा मैले नै पुल निर्माणका लागि सिंहदरवार धाएर पहल थालेको थिएँ”–तिवारीले भन्नुभयो ।

त्यसयता हरेक निर्वाचनमा राजनीतिक दलका उम्मेद्वारहरुले यो पुल बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए । पछिल्लोपटक कोशी प्रदेश सरकारले प्राथमिकतापूर्वक बजेट सुनिश्चितता गरेपछि बल्ल पुल निर्माण भएको मेचीनगर वडा नं. २ का वडाध्यक्ष दिपक बरालले बताउनुभयो ।

निर्माण भएको पुलको लम्बाई ५१ मिटर र चौडाई ८.४० मिटर रहेको छ । पुलको पूर्व र पश्चिम दुबै छेउमा पहुँच मार्ग समेत बनाइएको छ । औपचारिक हस्तान्तरण र उद्घाटन नभए तापनि बर्खाको समयमा आवतजावतका लागि पुलको सञ्चालन भइसकेको छ ।