२ कार्तिक २०८१, शुक्रवार

स्वास्थ्य

प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’ बनाइने घोषणा

३ असार २०८१, आइतवार
Image

मेचीनगर, २ असार । कोशी प्रदेश सरकारले प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदेशकै ‘उत्कृष्ट सेवा केन्द्र’को रुपमा विकास गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले शनिवार प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उक्त घोषणा गरिएको छ ।

प्रदेशले प्रादेशिक अस्पताल भद्रपुर र जिल्ला अस्पतालहरु पाँचथर, धनकुटा, उदयपुर, संखुवासभा र खोटाङमा आइसीयु र एनआइसीयु सहितको सेवा प्रवाह गर्न बजेटमा रु. ६० करोड ५५ लाख बिनियोजन गरेको छ ।

झापाको लखनपुरस्थित प्रदेश आयूर्वेद अस्पताललाई कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ । बजेटमा कोशी आयूर्वेद अस्पतालसहित स्वस्थ जीवनशैली, आहार विहार, योग, ध्यान, व्यायाम प्रवर्धनका लागि बजेटमा रु. १८ करोड ५० लाख छुट्याएको छ ।

प्रादेशिक अस्पताल भद्रपुरसहित उदयपुर, धनकुटा, संखुवासभा अस्पतालबाट निःसन्तान दम्पत्तिका लागि निःशुल्क उपचार सेवा प्रदान गर्न प्रदेश सरकारले रु. एक करोड १० लाख बजेट बिनियोजन गरेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले १० वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क रुपमा गर्नका लागि यसपाली रु. चार करोड २९ लाख बजेट बिनियोजन गरेको छ ।

यसअघिका मुख्यमन्त्री केदार कार्कीको पालामा १० वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क गर्ने घोषणा गरिए पनि पर्याप्त बजेट नछुट्याइएको कारण यो कार्यक्रम घोषणामै सीमित भएको थियो । 

यसपटक प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रु. तीन अर्ब ५८ करोड बजेट बिनियोजन गरेको छ ।