२ कार्तिक २०८१, शुक्रवार

सञ्जीवनीले सुरु गर्यो आत्महत्या न्यूनीकरण सम्बन्धी समुदाय लक्षित कार्यक्रम

६ असार २०८१, बुधवार
Image

धुलाबारी, ५ असार । सञ्जीवनी महिला विकास संस्थाले आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले समुदाय लक्षित कार्यक्रम सुरु गरेको छ । 

लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील संस्थाले बढ्दो आत्महत्या घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यार्थी र अभिभावकलाई नै लक्षित गरेर तीन दिवसीय प्रशिक्षण कार्यक्रम आजबाट सुरु गरेको हो । 

धुलाबारी क्षेत्रका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागितामा छहारी होटलको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द बुढाथोकीले गर्नुभएको छ ।


बुढाथोकीले मानिसलाई आत्महत्या गर्ने स्थितिमा पुग्न नदिनका लागि पालिकाले सचेतनासहितका कार्यक्रममा बजेट नै विनियोजन गरेर आगामी दिनमा काम गर्ने बताउनुभयो । 

उहाँले आत्महत्याको सोच, व्यवहार र असफल प्रयासलाई समयमै पहिचान गर्नका लागि भौतिक पूर्वाधारमा जस्तै बजेटको आवश्यकता पर्ने हुँदा आगामी आर्थिकमा यस शीर्षकमा बजेट नै विनियोजन गरेर काम गर्ने बताउनुभयो । “पहिलो प्राथमिकता मानव बचाउनु हो”, उहाँले भन्नुभयो, “बाँकी विकास निर्माणका कामहरु भइरहेका छन् भइरहन्छन् ।” 

संस्थाकी अध्यक्ष रेनुका डाँगीले समाजलाई जागरुक बनाउन समेत सचेतनामूलक कार्यक्रमको आवश्यकता महसूस गरेर आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 

उहाँले आत्महत्याका घटना बढ्नुका कारण मानिसले तनावको समस्या पहिल्याउन नसक्नु नै मुख्य चुनौती रहेको बताउँदै मनोपरामर्श दातासँगको समन्व्य र सहजीकरणले न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रम तीनसम्म चल्ने संस्थाकी सचिव निर्मला काफ्लेले बताउनुभयो । उहाँका अनुसार धुलाबारी, चारआली र बाहुनडाँगीमा कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमको सहजीकरण धरान उपमहानगर पालिकाकी मनोसामाजिक परामर्शदाता लीला थापाले गरिरहनुभएको छ ।  

कार्यक्रममा धुलाबारी माध्यमिक विद्यालयका शिक्षक रमेश दाहाल, कवि शिरोमणि माविका शिक्षक दीपक शिवाकोटी, इष्टहोइराजन माविकी शिक्षक विद्या भट्टराई, आदर्श विद्या मन्दिरकी शिक्षक खिला खनाल, पत्रकार अम्बिका भण्डारीलगायतको उपस्थिति रहेको थियो ।