२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरका १५ वडामै छैन नागरिक बडापत्र

७ असार २०८१, बिहिवार
Image

झापा, ६ असार । मेचीनगर नगरपालिकाका सबै वडा कार्यालयले अझैसम्म वडाबासीलाई प्रदान गरिने सेवा, सुविधा, लाग्ने शुल्क र समयसीमा किटान गरिएको ‘नागरिक बडापत्र’ राखेका छैनन् । 

कार्यालयमा बडापत्र नराख्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । बडापत्र कार्यालयमा नहुँदा सेवाग्राहीहरु काम कहाँ गराउने, सम्पर्क कसलाई गर्ने, शुल्क र समय कति तिर्ने भन्ने विषयमा अन्योलमा पर्ने गरेका छन् । 

मेचीनगर नगरपालिकामा १५ वटा वडा रहेका छन् । ती सबै वडामा नागरिक बडापत्र राखिएको छैन । हरेक सरकारी कार्यालय परिसरमा सेवाग्राहीले देख्न सकिने ठाउँमा नागरिक बडापत्र राख्नु पर्ने कानूनी व्यवस्था छ । मेचीनगरका वडा कार्यालयहरुले यो नियम पालना गरेका छैनन् । 

मेचीनगर नगरपालिका– १० की सम्रता न्यौपानेले कार्यालयमा बडापत्र नराख्दा सेवा लिन जाँदा झञ्झट व्यहोर्नु परेको  गुनासो गर्नुभयो । “कुन सेवा कहाँ गएर लिने, कसलाई भेट्ने ? समस्या भयो”, उहाँले भन्नुभयो, “यता सोध्यो, उता जानु भन्छन् । उता सोध्यो, फलानो कागज खोइ भन्छन् । यो त झञ्झटिलो भयो नि । नागरिक बडापत्र राखिदिएको भए पढ्नेले सजिलै काम गर्न सक्थे ।” 

उहाँले आफुले कर्मचारीहरुसँग सोधेरै काम गराउनु परेको र सरकारी दस्तुर कति लाग्ने भन्ने बारे पनि कर्मचारीबाटै जानकारी लिनु परेको बताउनुभयो । सेवाग्राहीलाई झन्झटबाट मुक्त गराउन पनि कार्यालयमा नागरिक बडापत्र अनिवार्य रहेको उहाँको भनाई छ । 

नागरिक वडापत्र हालसम्म कार्यालयमा नभएको स्वीकार गर्दै वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले तत्काल बनाउन कर्मचारीलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हाम्रो कमजोरी भयो । चाँडै कार्यालयमा नागरिक बडापत्र राखेर सेवाग्राहीलाई सेवा लिन सहज बताउँछौ ।”

मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले नागरिकको सूचनाको हक सुनिश्चित गर्नका लागि नागरिक बडापत्र आवश्यक रहने बताउनुभयो । उहाँले नगरपालिका कार्यालयबाटै बडापत्र बनाएर पठाउने भनेकाले अहिलेसम्म पर्खिएर बसेको जनाउँदै अब अरुको बाटो नहेर्ने र आफै नागरिक वडापत्र राख्न लागेको बताउनुभयो । 

“जनतालाई सूचनाको हकबाट बञ्चित गर्न मिल्दैन । जति ढिलो भयो भयो, अब साउन १ गतेदेखि कार्यालयमा जनताले देख्ने स्थानमा नागरिक बडापत्र राख्छौं”–उहाँले भन्नुभयो ।

बडापत्रले सेवाप्रदायक सरकारी निकायलाई सेवाग्राहीका आवश्यकताप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवार बनाउने हुँदा सबै कार्यालयमा यसलाई राख्न आवश्यक छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।