२ कार्तिक २०८१, शुक्रवार

विर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे

९ असार २०८१, शनिवार
Image

झापा, ८ असार । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड नगरपालिकाले छ बर्षको अवधिमा सडक पूर्वाधारको विकासमा फड्को मारेको छ । 

पालिकाले नगरको विकासलाई केन्द्रित गरेर सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिछ्याउने, पुल, कल्भर्ट बनाउने कार्यमा उलेख्य प्रगति गरेको नगर प्रमुख पवित्रा महताराले बताउनुभयो । 

उहाँले स्थानीय साधन स्रोतको उचित परिचालन गरेर छ बर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिनुभयो । नगरमा २८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ ।

“हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौ”, उहाँले भन्नुभयो, “अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।”

वि.सं. २०७४ देखि हालसम्म जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकामा १८४ वटा ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक विछ्याउने काम भएको छ । सो अवधिमा विपन्न समुदायका लागि ५३७ वटा आवास समेत निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पालिकाले तीन वटा झोलेङ पुल, आठ वटा फलामे पुल र २३४ किलोमिटर क्षेत्रमा तटबन्धन गरेको छ भने खानेपानीका लागि छ हजार ३८० मिटरमा पाइपलाइन विस्तार गरेको छ ।

पालिका प्रमुख महतराले आगामी पाँच बर्षभित्रमा प्रदेश र संघीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रंगशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिएको छ ।

पालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेर सोही मार्फत हाल जनतालाई सेवा दिइरहेको छ । नगरपालिकाले आगामी दिनहरूमा स्थानीय प्रशासन, स्थानीयबासी, र सरोकारवालाहरूको सहकार्य र योजना कार्यान्वयनले यस नगरपालिकालाई थप समृद्ध र विकसित बनाउन महत्वपूर्ण भूमिका खेल्न अपेक्षा गरिएको उहाँको भनाई छ ।