२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरको बजेट झापाकै ठूलो

११ असार २०८१, सोमवार
Image

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले झापा जिल्लाकै र मेचीनगरको अहिलेसम्मकै ठूलो आकारको बजेट ल्याएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि मेचीनगरले आज रु. दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको वार्षिक बजेट ल्याएको हो ।

झापाको दमक नगरपालिकाले चालू आवका लागि रु. एक अर्ब ६२ करोड, विर्तामोडले रु. एक अर्ब ४० करोड, भद्रपुरले रु. ९९ करोड, शिवसताक्षीले रु. ९६ करोड, गौरादहले रु. ८४ करोड र कनकाईले रु. ६९ करोडको बजेट सार्वजनिक गरेका छन् । 

मेचीनगरकै इतिहासमा पनि अहिले सबैभन्दा धेरै रकमको बजेट आएको हो ।

मेचीनगरमा आव २०७८/०७९ मा रु. एक अर्ब ५३ करोड, २०७९/०८० मा रु. एक अर्ब ४८ करोड र २०८०/०८१ मा रु. एक अर्ब ५१ करोडको बजेट ल्याइएको थियो ।

बिगत सात वर्षदेखि मेचीनगरको बजेट प्रस्तुत गर्ने अवसर उपप्रमुख मीना उप्रेतीले पाउँदै आउनु भएको छ ।

नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी निर्वाचित भए यताको यो दोस्रो पटकको बजेट हो भने बिगतमा नगरप्रमुखको पदमा बिमल आचार्य रहँदा समेत उप्रेतीले नै बजेट ल्याउने जिम्मेवारी पाउनु भएको थियो ।

गत आवको तुलनामा यसवर्षको बजेट रु. ५० करोड बढीको निर्माण भएको छ ।