२३ भदौ २०८१, आइतवार

चलनै छैन नगरसभामा दलका नेतालाई भाषण गराउने

११ असार २०८१, सोमवार
Image

मेचीनगर, १० असार । मेचीनगरको यसपालीको नगरसभामा राजनीतिक दलका नेता र सांसदहरु अतिथि हुनु भएन ।

नगरप्रमुख गोपाल बुढाथोकीको प्रवेश लगत्तै राष्ट्रगानबाट सभाको उद्घाटन भयो । नगरप्रमुख बुढाथोकी सभाहलमा आउनासाथ राष्ट्रिय धुन गुञ्जिएको  थियो भने हलभित्रका सबै उभिएका थिए ।

मञ्चमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी मात्र बस्नु भएको थियो ।

हलको अग्रभागमा वडाध्यक्ष र कार्य पालिकाका सदस्यहरु बस्नु भएको थियो भने वडा सदस्यहरु हलभरि छरिएर बस्नु भएको थियो ।

पत्रकार र कर्मचारीलाई पछाडिको भागमा बस्ने व्यवस्था मिलाइएको थियो भने फोटो र भिडियो खिच्न पत्रकारहरुलाई मञ्च र हलको जुनसुकै भागमा ओहोरदोहोर गर्ने सहजता थियो ।

बिगतको भन्दा पृथक यही दृश्यका कारण कतिपयलाई अनौठो पनि लाग्यो । सभा सुरु भएपछि वडा नं. ६ र ७ का वडाध्यक्षद्वय ललित तामाङ र गिरिराज धमलाले चित्त बुझाउनु भएन । 

प्रश्न सोध्नु भयो–‘दलको नेतृत्व र माननीय सांसद्हरुलाई किन आमन्त्रण गरिएन ?’

‘नगरसभाको मञ्चमा दलका प्रतिनिधिहरु खोई ? दलका नेताहरुसँग नगरपालिका किन डराएको ?’

उठेका यिनै प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख बुढाथोकीले प्रदेश सभाद्वारा निर्माण गरिएको नगरसभा सञ्चालन सम्बन्धी ऐनका आधारमा नगरसभा सञ्चालन भइरहेको स्पष्टिकरण दिनुभयो ।

‘दलका नेताहरुसँग नगरपालिका डराएर उहाँहरुलाई नबोलाइएको होइन । जनप्रतिनिधिहरु सहभागी हुने यस नगरसभामा दलका नेताहरुलाई राख्नु पर्ने कानूनमै उल्लेख छैन । तैपनि मैले नै संघीय सांसद् विश्वप्रकाश शर्मा, प्रदेश सांसद् गोपाल तामाङ र प्रदेश सांसद् सबिना बजगाईलाई निमन्त्रणा गरेको थिएँ । उहाँहरुले समय दिन सक्नु भएन ।’–नगरप्रमुख बुढाथोकीले भन्नुभयो ।

यो जवाफपछि सभाको प्रक्रिया अघि बढाइएको थियो । मेचीनगरमा दलका नेताहरुलाई सभाको उद्घाटनमा भाषण गराउने चलन हटाइएको यो पहिलोपटक होइन । यसअघिको सभामा पनि कसैलाई भाषण र आसन गराइएको थिएन ।

लोकतन्त्र पोस्टले नगरप्रमुखले भनेको कुरो सही हो कि होइन भनेर अन्यत्रको अभ्यासलाई अध्ययन गर्यो । वास्तवमा संसदीय प्रणाली अनुरुप निर्वाचित जनप्रतिनिधिहरुको सभामा दलका नेताहरुलाई आसन र भाषण गराउने चलन कहिँ कतै फेला परेन, मेचीनगरमा बाहेक ।

बिगतमा मेचीनगरमा सांसद्हरु राम कार्की, विश्वप्रकाश शर्मा, श्रीप्रसाद मैनाली लगायतका नेताहरु सभा उद्घाटन समारोहको अतिथि बन्नु भएको थियो ।

यसैपाली झापाका अन्य सबै पालिकाको सभा आजै सम्पन्न भएको छ । कतै पनि दलका नेतालाई आसन र भाषण गराइएको पाइएन ।

केन्द्र र प्रदेशको अभ्यास हेर्ने हो भने संघीय संसद् र प्रदेश सभाको उद्घाटनमा दलका नेताहरु आमन्त्रित हुँदैनन् । त्यहाँ दलका नेताहरुले आसन र भाषण गर्ने अभ्यास छैन ।

संघीय संसद्को बैठकमा ख्याल गर्ने हो भने प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु नै हलको अग्रभागमा सांसद्हरुसँगै बसेका हुन्छन् । जनताले चुनेर पठाएका जनप्रतिनिधिको सभामा दलका नेताहरुले भाषण गर्न पाइएन भनेर गुनासो गर्नु अनुचित नै देखिन्छ ।

बजेट निर्माणका लागि नगरका सबै राजनीतिक दलहरुसँग सुझाव लिइएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो ।