२३ भदौ २०८१, आइतवार

हात्ती र बाँदरको आहारका लागि सामुदायिक बनमा वृक्षारोपण

१७ असार २०८१, आइतवार
Image

झापा, १६ असार । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि अर्जुनधारा नगरपालिका वडा नं. ३ मा फलफूलका १० हजार विरुवा रोपिएको छ । जुकेखाडी सामुदायिक वनले उक्त वृक्षारोपण गरेको हो ।

सामुदायिक वनको ७४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा विरुवा रोपिएको बन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । 

‘एक उपभोक्ता एक विरुवा’ अभियान अन्तर्गत दुई दिनमा सयौं उपभोक्ता भेला भएर आँप, केरा, बाँस, उखु, कटहर, बडहर लगायतका विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।  

जिल्लाको उत्तरी भेगमा जंगली क्षेत्र रहेको छ । जहाँ भारतबाट वर्षेनी आउने सयौं हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको संख्यामा रहेको रैथाने जंगली हात्तीले यही जंगललाई बासस्थान बनाउने गरेका छन् । 

हात्ती बाहेक जंगलमा बस्ने बाँदरको बथानबाट समेत जंगल नजिकका बासिन्दा पिरालिदै आएका छन् । अहिले रोपिएका फलफूलका विरुवा हुर्किएपछि बाँदर समेत आहारको खोजीमा गाउँ नआउने स्थानीयबासीको अपेक्षा छ ।

जंगली जनावर जंगलमै रमाउन् र उनीहरुलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका विरुवा जंगलभित्रै रोपिएको हो । आगामी वर्ष २० हजार विरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हालमा जंगलमा हात्ती र बाँदरका खानलायक बोटविरुवा मासिइसकेका कारण समस्या भएको छ ।

जुकेखाडी जंगलमा दिनभर लुकेर बस्ने भोका हात्तीहरु रातभर गाउँमा आहारको खोजीमा आउने क्रमले मानव–द्वन्द्व बढिरहेको हुँदा फलफूलका विरुवाले हात्तीलाई जंगलमै अल्मलाउन सहयोग पुग्ने अपेक्षा गरिएको जुकेखाडी सामुदायिक बन समितिको उपभोक्ता समेत रहनु भएको पत्रकार दिपीन राईले बताउनुभयो ।

“आहाराकै खोजीमा हात्ती बस्ती पसेर दुःख दिने गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘जंगलमै खानाको व्यवस्था भयो भने गाउँपस्न छाड्छ, यसो हुँदा मानव हात्ती द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्छ ।” 

समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार ५५८ उपभोक्ता छन् । जंगलमा रोप्नका लागि सामुदायिक बनका उपभोक्ता आफैले घरबाट विरुवा संकलन गरेका थिए । डिभिजन वन कार्यालय भद्रपुरले तीन हजार थप विरुवा दिने भएको समितिले जनाएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायतका विरुवा लगाइरहेको जानकारी दिनुभयो । उहाँले कार्यालयले समेत यस कार्यका लागि आवश्यक विरुवा दिएर सहयोग गर्ने नीति लिएको बताउनुभयो ।