२ कार्तिक २०८१, शुक्रवार

झापाका तीन स्थानमा स्वचालित पूर्व सूचना प्रणाली जडान

२१ असार २०८१, बिहिवार
Image

झापा, २० असार । कनकाई र विरिङ नदीको बाढीको उच्च जोखिममा रहेका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्व सूचना प्रणाली (साइरन) जडान गरेको छ । 

नदीहरुमा पानीको बहाव बढेसँगै आधुनिक र स्वचालित साइरनले जडान गरिएको स्थानदेखि करिब दुई किलोमिटर क्षेत्र वरपर आवाज दिएर स्थानीयवासीलाई सचेत गराउने प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा बाह्रदशी गाउँपालिका–१ को भागुडुब्बा, झापा गाउँपालिकाको सडकवारि र गौरीगञ्ज गाउँपालिकाको कुञ्जिवारीमा स्वचालित साइरन जडान गरिएको छ । उक्त साइरनहरु स्कूलको छतमा जडान गरिएको छ । 

उहाँले बहुप्रकोपीय स्थानको अध्ययन अनुसन्धान गरेर रेडक्रस सोसाइटीको सहकार्यमा पूर्व सूचना प्रणाली देशभर जडान गरिएको बताउनुभयो । बाढीको उच्च जोखिममा रहेका देशभरका ६० स्थानमा परीक्षणका लागि स्वचालित साइरन जडान गरिरहेको उहाँको भनाई छ ।

“झापाका धेरै पालिकाहरु बाढीको उच्च जोखिममा छन्”, प्रवक्ता भट्राईले भन्नुभयो, “हामीले अहिले परीक्षणका लागि तीन स्थानमा जोडिरहेका छौं, प्रभावकारी भयो भने पालिका आफैंले खरिद गरेर पनि जडान गर्न सक्छन् ।” उहाँले स्वचालित साइरन जडानका लागि करिब रु. सात देखि आठ लाख मात्र खर्च हुने हुँदा पालिका आफैंले पनि खरिद गरेर जडान गर्न सक्ने बताउनुभयो । कनकाईमा रहेको वर्षा मापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको छ यसैको आधारमा साइरनको आवाजले स्थानीयवासी सूचित हुनेछन् । 

यस अघि जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईको तटीय क्षेत्रका कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका गौरीगञ्ज र झापा गाउँपालिका गरी चार पालिकाका बाह्र वटा वडाका १५ वटा वस्तीमा बाढीको पूर्वसूचना दिन दश वर्ष अघि नै मानव परिचालित साइरन जडान गरिएको नेपाल रेडक्रस सोसाइटीका विपद् व्यवस्थापन फोकल पर्सन हरिकृष्ण खड्काले बताउनुभयो । 

झापा र इलामको सीमानामा पर्ने मैनाचुलीमा जलमापन केन्द्र र गैंडेमा बाढी मापन केन्द्र उपकरण जडान गरिएका छन् । ती केन्द्रले वर्षा र जलसतह मापन गरेर बाढी आउने अग्रिम जानकारी मोवाइल र ईन्टरनेटबाट स्थानीय समुदायलाई एसएमएसबाट पठाउने गर्छन् । त्यही एसएमएसका आधारमा गाउँमा साइरन घन्काउने गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, दुई महिना अघि मात्र निन्दा र विरिङ नदीका पुलमा समेत जल तथा मौसम विज्ञान विभागले बाढीमापन उपकरण जडान गरेको छ । दुवै नदीमा जडान गरिएका उपकरणका लागि बर्षामापन प्रणाली भने बनाउन बाँकी रहेको छ । 

यसबर्ष जिल्ला विपद व्यवस्थापन समितिले करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ । जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकीलगायतका २५० वटाभन्दा बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको छ ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।