२३ भदौ २०८१, आइतवार

बिरिङ पुल भासिएपछि आवागमन बन्द

२७ असार २०८१, बुधवार
Image

झापा, २६ असार । अर्जुनधारा नगरपालिका वडा नं. ७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ । उक्त पुल पार गरेर झापाबाट पश्चिमी इलाम जाने यातायातका साधनहरुलाई अर्कै सडकमा रुट परिवर्तन  गरिएको छ ।

झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड–शनिश्चरे–दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्ष अघि निर्माण भएको थियो ।

बिगत दुई दिनदेखि परिरहेको अबिरल वर्षा र बाढीले पुलको भाग भासिने र चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले बताउनुभयो ।

उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको बहाव बढेपछि पुल भासिदै गएको छ । “कुनै दुर्घटना नहोस् भनेर पुलमा यातायातका साधन र मानिसको आवागमन हाललाई बन्द गरेका छौ.”–उहाँले भन्नुभयो ।

झापाको पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई खुदुनाबारीसँग सीधा जोड्ने उक्त पुलमा आवागमन बन्द भएपछि केही किलोमिटर घुमाउरो बाटो भएर अर्जुनधारा धाम र सिस्नेको अर्को रुटबाट सवारी साधनहरु ओहोरदोहोर गर्न बाध्य भएका छन् । 

स्थानीय दिपीन राईले बिरिङ नदीमा नयाँ पुल निर्माण गरिनु पर्ने बताउनुभयो । उहाँले जीर्ण भइसकेका उक्त पुल वर्षेनी भासिने गरेको देख्दादेख्दै पनि पुनःनिर्माणमा सरकारको ध्यान नगएको गुनासो गर्नुभयो ।

विद्युतीय घेराबेरा बगायो

मेची नदीमा आएको बाढीले मेचीनगर वडा नं. १ र ४ को सीमानामा पर्ने प्रसाद गौडामा जमिन कटान गर्दा हात्ती छेक्न जडान गरिएको विद्युतीय घेराबेराको तीन वटा पिलर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले विद्युतीय घेराबेरा बगाउँदा रु. एक लाख बराबरको क्षति भएको जानकारी दिनुभयो ।