२ कार्तिक २०८१, शुक्रवार

स्थिर सरकारका लागि कांग्रेस–एमाले एकै ठाउँमा उभिए ः महामन्त्री शर्मा

२७ असार २०८१, बुधवार
Image

झापा, २६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताउनुभएको छ । 

मेचीनगर नगरपालिका– ५ स्थित सिर्जना चोकमा आज एक कार्यक्रममा बोल्दै उहाँले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेको बताउनुभयो ।

उहाँले दुवै दलको सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । “एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ,” उहाँले भन्नुभयो–“त्यही सरकारले मुलुकको बर्तमान संकट समाधान गर्नेछ ।”

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न सक्नुपर्छ ।”

उहाँले सोही कार्यक्रममा मेचीनगर—५ स्थित सिर्जना चोकमा मेचीनगर सहलगानी आयोजना अन्तर्गत ४५० घन मिटरको ओभरहेड ट्याङ्कीको आज शिलान्यास गर्नुभयो ।

मेचीनगर सहलगानी आयोजना अन्तर्गत मेचीनगरको काँकडभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगी क्षेत्रमा खानेपानीका विभिन्न परियोजना सञ्चालन भइरहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष रोहितकुमार बुढाथोकीले बताउनुभयो । 

मेचीनगर–५ मा शिलान्यास भएको परियोजना मूल्य अभिवृद्धि करसहित कुल रु. १० करोड ४८ लाख १९ हजारको लागतमा निर्माण हुन लागेको हो । सन् २०२४ जुन ६ तारिख ग्लोबल दिपेश जेभी काठमाडौंसँग सम्झौता भएको थियो । सन् २०२६ डिसेम्बर ५ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

कुल लागतमध्ये रु. एक करोड ३१ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र रु. नौ करोड १७ लाख १७ हजार संघीय सरकारले व्यहोर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

सो रकमबाट एउटा ४५० घन मिटर र अर्काे २२५ घन मिटरको गरी दुईवटा ओभरहेड ट्याङ्की, चारवटा वोरिङ, दुईवटा जेनेरेटर, दुईवटा ट्रान्सफर्मर, दुईवटा ट्रिटमेन्ट प्रणाली, ३५ किलोमिटर पाइपलाइन विस्तार र कार्यालय भवन निर्माण गरिने उहाँले बताउनुभयो । 

शिलान्यास समारोहमा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, नेपाली कांग्रेसका झापा उपसभापति केशवराज पाण्डेलगायतले परियोजनाको काम निर्धारित समयमै गुणस्तरीय रुपमा हुनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।