२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरको सार्वजनिक सुनुवाई

कार्यक्रममै भक्कानिए लाक्पा, नगरप्रमुख भए गम्भीर

२८ असार २०८१, बिहिवार
Image

मेचीनगर, २७ असार । मेचीनगर नगरपालिकाले आज आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा क्रिक्रेटका पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा भक्कानिएर रुनुभयो ।

क्रिक्रेट खेलाडीको रुपमा जीवनभर देशको सेवा गरेको र अब प्रशिक्षक बनेर अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न इच्छुक रहेको बताउँदा लामाले कार्यक्रममै गहभरि आँशु झार्नुभयो ।

मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाकै सभाहलमा आज दिउँसो सवा १ बजेदेखि सवा ५ बजेसम्म सञ्चालन भएको थियो ।


कार्यक्रममा सहभागीहरुले प्रश्न राख्ने क्रम सुरु भएपछि सभाहलको पुछारमा रहनु भएको लामाले हात उठाएर सहजकर्ता अम्बिका भण्डारीसँग बोल्ने समय माग्नुभयो । माइक हातमा लिएर बोल्न सुरु गर्नासाथ उहाँ भक्कानिुभयो । पत्रकारहरुले उहाँ रोएको दृश्य खिचिरहेका थिए ।

उहाँले खेल क्षेत्रमा आफुले गरेको संघर्ष, सफलता र कतिपय सन्दर्भमा भोग्नु परेको उपेक्षाका कारण आफु भावुक भएको बोल्ने क्रममा बताउनुभयो । उहाँले प्रशिक्षक बनेर मेचीनगरबाट राम्रा क्रिक्रेट खेलाडी उत्पादन गरेर देखाउने आाफ्नो धोको रहेको सुनाउनुभयो ।

उहाँले मेचीनगर खेलाडीहरुको उर्वर भूमि भएको चर्चा गर्दै राम्रा खेलाडी उत्पादन गर्न क्रिक्रेट रंगशाला आवश्यक भएको र यसका लागि नगरका प्रमुख गोपालचन्द्र बुढाथोकीसँग कुराकानी भइरहेको बताउनुभयो ।

पत्रकार प्रविण अधिकारीले लाक्पा लामा जस्तो चर्चित खेलाडी कार्यक्रममै रुनुपर्ने अवस्था किन आएको भनेर प्रश्न गर्नुभएको थियो । “आज एउटा खेलाडी रोयो भन्ने कुरामा मात्र होइन, भोलि रुबिनाहरु पनि रुँदै बोल्नु पर्ने अवस्था नआवोस्”–अधिकारीले भन्नुभयो ।

मेचीनगर निवासी अर्का खेलाडी राजु महर्जनले पनि सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकालाई खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकासँग के कस्ता योजना छन् भनेर प्रश्न गर्नुभयो । महर्जन नेपालका पहिलो अन्तर्राष्ट्रिय कराते रेफ्री हुनुहुन्छ । 


कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले क्रिक्रेट खेलाडी लाक्पा लामाले भावुक बनेर सोध्नु भएका प्रश्नहरुले आफुलाई पनि गम्भीर बनाएको बताउनुभयो ।

नगरपालिकाले क्रिक्रेट मैदानका लागि जग्गा खोजिरहेको र खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले नगरबासीबाट सोधेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले सहजिकरण गरेको उक्त कार्यक्रममा लगभग डेढ सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरपालिकाको गतिविधिका बारेमा प्रकाश पार्दै आगामी दिनमा गरिने प्रशासनिक एवम् वित्तीय व्यवस्थापनका सुधारहरुको चर्चा गर्नु भएको थियो ।

उपप्रमुख उप्रेतीले नगरपालिकाका तर्फबाट प्रतिवद्धता मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमिया, वत्र्तमान उपाध्यक्ष भूमि पौडेल, चरा खोजकर्ता देबेन्द्र खरेल, सरस्वती सिटौला, कृष्ण खरेल, गोपाल बस्नेत, समिर थापा, घनश्याम लामिछाने, इन्द्रबहादुर बस्नेत, रामबहादुर श्रेष्ठ, केशव गौतम, खगेन्द्र भण्डारी, मञ्जिल देवान, दुर्गादेवी भट्टराई, मायामितु न्यौपाने, देबु बानियाँ, सन्दिप पोखरेल, प्रविण अधिकारी, खगेन्द्र घिमिरे लगायत २३ जनाले नगरपालिकालाई प्रश्न सोध्नु भएको थियो ।

नागरिकबाट सोधिएका प्रश्नहरु विकास निर्माण, सुशासन, सेवा प्रवाह, नगर अस्पताल, खोला उत्खनन, शिक्षा, सामाजिक सुरक्षा, बजेट वितरण जस्ता विषयसँग जोडिएका थिए ।