२३ भदौ २०८१, आइतवार

प्रयोगविहीन होल्डिङ सेन्टर टुलुटुलु हेरेर फर्किए मन्त्री

३ साउन २०८१, बिहिवार
Image

झापा, ३ साउन  मेचीनगर–१४ दुहागढीमा तीन वर्ष अघि कोरोनाकालमा निर्मित एक हजार शैयाको होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउन सरोकारवालाहरुले कोशी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी हिजो होल्डिङ सेन्टरको आवलोकनमा आउनुहुँदा उक्त आग्रह गरिएको हो ।

मन्त्री अधिकारीले स्थानीय पालिकाहरु समेतको सुझावका आधारमा होल्डिङ सेन्टरको संरचनालाई लागू औषधको कुलतबाट मुक्त गराउने प्रदेशस्तरीय सुधारगृहको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।

उहाँले होल्डिङ सेन्टरका विषयमा कोशी प्रदेश सरकारले चाँडै उपयुक्त निर्णय लिने र भौतिक संरचनाहरु प्रयोगमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कोरोनाको दोस्रोलहरका बेला नेपाल सरकारले सातै प्रदेशमा एक हजार शैयाको होल्डिङ सेन्टर निर्माण गर्ने क्रममा दुहागढीमा रु. २५ करोडको लागतमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरेको थियो ।

चार बिघा क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टरमा उस्तै डिजाइनका २२ अत्याधुनिक पक्की भवन छन् भने एक सय शैयामा अक्सिजन आपूर्ति गर्न सकिने पाइपलाइन समेत जडान गरिएको छ । त्यहाँ २२ वटा शौचालय, १५ वटा डाइनिङ हल, एउटा प्रशासनिक भवन र दुईवटा भान्सा घर निर्माण गरिएका छन् ।

हाल उक्त होल्डिङ सेन्टरको सुरक्षा र रेखदेख नेपाली सेनाको चारआलीस्थित अरिदम गणले गरिरहेको छ । यति धेरै संरचना निर्माण भएर प्रयोगविहीन रहँदै आएकोमा सर्वत्र चिन्ता व्यक्त हुँदै आएको थियो ।

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले करोडौं लगानी गरेर बनाएको होल्डिङ सेन्टरलाई उपयोगविहीन नबनाउन मन्त्री अधिकारीलाई आग्रह गर्नुभयो । 

“सरकारको बजेटबाट ठूलो लगानीमा बनेका पक्की संरचनाहरु प्रयोग नगरी नाशिने अवस्थामा पुग्न दिनुहुँदैन,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो–“यसको उपयोगका बारेमा धेरै कोणबाट सुझाव आएका छन् । लागू औषधको सुधारगृह बनाउनु पर्छ भन्ने विकल्पमा धेरैको सकारात्मक धारणा छ । जे जसरी हुन्छ यसको सदुपयोग हुनुपर्छ ।” 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले यसलाई प्रयोगमा ल्याउन सकिने अनेक विकल्प भएको बताउनुभयो । मन्त्री अधिकारी जिल्लाका सबै सुरक्षा निकायको प्रतिनिधिसहित होल्डिङ सेन्टरको अवलोकनमा आउनुभएको थियो ।

उहाँ आजै मेचीनगर नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त अवसरमा लागू औषध, सीमा, सवारी अनुमति पत्र, मानव–हात्ती द्वन्द्व लगायतका विषयमा छलफल भएको जनाइएको छ ।