२३ भदौ २०८१, आइतवार

चार महिनामै सुधारको संकेत देखिन थाल्यो मेचीनगरमा

४ साउन २०८१, शुक्रवार
Image

मेचीनगर, २ साउन । प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिक्ने नगरपालिकाको रुपमा बदनाम भइरहेको बेला मेचीनगरमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको आगमनपछि समग्र सुधारको संकेत देखिन थालेको छ ।

उहाँ नगरपालिकामा आएको चार महिना मात्रै भएको छ । तर, कार्यालयको सेवा प्रवाह, कर्मचारीको व्यवहार र विकास निर्माणको क्षेत्रमा उहाँले नगरबासीमा आशा जगाउन सफल हुनु भएको छ ।

नगरपालिकाको आर्थिक शाखामार्फत हुने भुक्तानी प्रक्रिया ज्यादै झञ्झटिलो र ढिलासुस्तीपूर्ण हुने गरेको जनगुनासो बढेपछि उहाँले आर्थिक वर्ष २०८१/०८२ देखि ‘चेकलेस’ भुक्तानी प्रणाली लागू गर्न लागिएको बताउनु भयो ।

‘चेकलेस’ भुक्तानी प्रणाली भनेको कुनै पनि व्यक्ति वा संस्थाले भुक्तानी पाउन प्रक्रिया बमोजिमको कागजात बुझाए पुग्छ । लेखा शाखामा धाइरहनु पर्ने, कर्मचारीलाई अनुनय विनय गरिरहनु पर्ने र जनप्रतिनिधिमाथि आक्रोश पोखिरहनु पर्ने अवस्थाको अन्त्य गर्दै सिधै सरोकारवाला व्यक्ति वा संस्थाको बैंक खातामा भुक्तानी रकम जम्मा हुने डिजिटल प्रणाली लागू हुने उहाँले बताउनुभयो ।

मेचीनगरमा कर्मचारी–कर्मचारीबीच र कर्मचारी–जनप्रतिनिधिबीच बेमेलको कारण बिगतमा लफडाहरु सिर्जना हुने गरेका थिए । दुई दशकदेखि स्थानीय तहको नेतृत्व गरिरहेको अनुभवी भएका कारण प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफु आएको चार महिनामै त्यस्ता आन्तरिक द्वन्द्वहरु आउनु दिनु भएको छैन ।

अहिले सबै कर्मचारीबीच आआफ्नो काम र जिम्मेवारी सम्हाल्ने बारेमा कुनै विवाद छैन । उहाँले सबैलाई मिलाएर कर्मचारीतन्त्र हाँकिरहनु भएको छ ।

बिगतमा प्रमुख प्रशासकीय अधिकृत र नगरका जनप्रतिनिधिबीच ठूलो द्वन्द्व छताछुल्ल हुन्थ्यो । अहिले नगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच काम गर्ने सवालमा लय मिलिरहेको छ ।

अधिकारीले नगरपालिकाको आन्तरिक आयश्रोत बढाउने विषयमा पनि सफलता पाउनु भएको छ । राजस्व शाखामा काबिल कर्मचारी प्रेमप्रसाद पराजुलीलाई ल्याएपछि बिगतमा नलागेका ठेक्काहरु हाल धमाधम उच्च दररेटमा लागिरहेका छन् । पराजुलीलाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले वडा सचिवबाट राजस्व शाखामा ल्याउनु भएको थियो । 

बसपार्क बाहेक अरु सबै करका स्रोतहरुमाथिको ठेक्का लागिसकेको र आन्तरिक राजस्व यसपाली बढ्ने संकेत मिलेको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नगरपालिकाको जीर्ण र फुस्रो बन्दै गएको प्रशासनिक भवनमा समेत आवश्यक रंगरोगन गरेर चमक ल्याउनु भएको छ ।

नगरपालिकामा अहिले जाने सेवाग्राहीले भवनको रुपरंग नै बदलिएको देख्न पाउँछन् । राजमार्गदेखि नगरपालिकाको प्रवेशढोकासम्मै सौन्दर्यकरण गर्ने उहाँको योजना कार्यान्वयन भइरहेको छ ।

अधिकारीले हालै सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीलाई सुविधा पुर्याउन हेल्प डेक्स (सहायता कक्ष) को व्यवस्था गरिने बताउनु भएको थियो । कार्यालयको तोकिएको फाँटमा सेवाग्राहीको फाइल पुगेपछि स्वतः सम्बन्धित फाँट र कर्मचारीसमक्ष फाइल पुग्ने र काम सम्पन्न हुने स्वचालित प्रणाली विकास गरिने उहाँले सुनुवाई कार्यक्रममा बताउनु भएको थियो ।

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले अहिलेका प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि स्थानीय तहमा बसेकाले दक्ष भएको र जनप्रतिनिधि, कर्मचारी र सबैसँग उहाँको व्यवहार राम्रो रहेको बताउनुभयो ।

अधिकारीले नगरपालिका कार्यालयको रूपरंग फेरे जसरी नै समग्र मेचीनगरबासीको पनि मुहारमा खुशी ल्याउन सफल हुनुहुन्छ भन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधकिृत अधिकारी आएपछि नगरपालिकाको पूँजीगत खर्च उत्साहजनक रुपमा बढेर विकास निर्माणले गति लिएको छ । बिगतमा पूँजीगत खर्च निराशाजनक रहेकोमा यसपाली ७३ प्रतिशत पुगेको छ । काठमाडौं महानगरपालिकाले पूँजीगत खर्च ५० प्रतिशत पनि कटाउन नसकेपछि हालै त्यहाँका मेयर बालेन साहको चर्को आलोचना भइरहेको छ ।

नगरको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा नयाँ नयाँ रचनात्मक कार्यक्रम ल्याएर नगरबासीलाई खुशी तुल्याउने थुप्रै योजना सुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।