२३ भदौ २०८१, आइतवार

बंगलादेशबाट १७ जना विद्यार्थी आज फर्किदै

६ साउन २०८१, आइतवार
Image

झापा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा जारी हिंसात्मक आन्दोलनका कारण अलपत्र नेपाली विद्यार्थीका परिवारसँग भेट गर्नु भएको छ।

बंगलादेशस्थित इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई आज बिहान ४ बजे ढाका विमानस्थल हुँदै काठमाडौँ फर्कने प्रबन्ध मिलाइएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको छ । 

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अहिलेसम्म झण्डै ८ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेको र समस्यामा परेकाले अनलाइन आवेदन दिन समेत आग्रह गरेको छ। 

ओलीले त्यसबारे पनि जानकारी दिँदै भन्नु भएको छ, ‘विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो। परिवारको माग बमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीहरूलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौँ फर्काउने प्रबन्ध गरिएको छ।’

सरकारी जागिरमा करिब ५५ प्रतिशत आरक्षण दिने व्यवस्था पुनः लागू गर्न बंगलादेशको अदालतले आदेश दिएपछि विद्यार्थीहरू आक्रोसित हुँदै प्रदर्शनमा उत्रिएका छन्।

आन्दोलनले चर्को रुप लिन थालेपछि अन्य मुलुकबाट पनि त्यहाँ पुगेकाहरू स्वदेश फर्कन थालेका छन्।

कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेको प्रधानमन्त्रीले ओलीले जानकारी गराएका छन्।