२ कार्तिक २०८१, शुक्रवार

मल उत्पादनका लागि भैसी पालनको तयारी

६ साउन २०८१, आइतवार
Image

बुधवारे, ६ साउन । प्राङ्गरिक जैविक मल उत्पादन गर्नका लागि बुद्धशान्ति गाउँपालिका– ३ मा स्थापना गरेको अंकुरण एग्रो प्रालिले भैसी पालनको तयारी गरेको छ ।

जिल्लामा किसानले अग्र्यानिक तरकारी खेती गर्ने किसानको संख्या बढ्नुका साथै चिया बगानमा समेत प्राङ्गरिक जैविक मलको प्रयोग हुन थालेको छ । मलको लागि आवश्यक कच्चा पदार्थ उत्पादन गर्न भैसी पालनको तयारी गरेको प्रालिका सञ्चालक विनोद मोक्तान बताउनुभयो । 

“प्राङ्गरिक मल बनाउन गोबर नभई हुँदैन”, उहाँले भन्नुभयो, “भैसीको मलमुत्र दुवै मलको उपयोगी कच्चा पदार्थ हुन् । उद्योग सञ्चालन गर्नु अघि कच्चा पदार्थ जुटाउन पर्नु भएकाले भैसी पाल्ने तयारी गरेको हुँ ।”

उहाँले गत बर्ष नै उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाइसकिएको बताउनुभयो । कोभिडको महामारीपछि  विषादीसहितको तरकारीको बिकल्पमा कौसी, करेसामै अग्र्यानिक तरकारी उत्पादन गर्ने किसानको संख्यामा समेत बृद्धि भएको उहाँले बताउनुभयो ।

रासायनिक मलको सट्टा माटोको उर्वराशक्ति बढ्ने र अग्र्यानिक तरकारीको माग समेत बजारमा उच्च रहेको हुँदा आफूले मल उद्योग सञ्चालन गर्न लागेको बताउनुभयो । 

उहाँले भैंसीको गोबर, मुत्रसँगै स्थानीय क्षेत्रमा पाइने झारपातद्वारा जैविक मल उत्पादन गरेर झापा लगायत माग भई आएको कोशी प्रदेशका विभिन्न जिल्लामा मल पुर्याउने बताउनुभयो ।  

सञ्चालक मोक्तानले दुई महिना भित्रमा प्राङ्गरिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताउनुभयो । 

उहाँलै आगामी भदौ महिनादेखि नै भैसी पालन सुरु गर्ने बताउनुभयो । भैंसी पालनका लागि आवश्यक पूर्वाधारको निर्माण भइसकेको उहाँको भनाई छ ।