२३ भदौ २०८१, आइतवार

पूर्वीनाकाबाट कृषिजन्य वस्तुको आयातभन्दा निर्यात धेरै

७ साउन २०८१, सोमवार
Image

झापा, ७ साउन  पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/०८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा रु. १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजारको विभिन्न कृषिजन्य बस्तु आयात भएको छ ।

जबकि सोही अवधिमा काँकडभिट्टा नाका भएर रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको बस्तु विदेश निर्यात भएको उहाँले जानकारी दिनुभयो । 

गत आवको आयातको तुलनामा आव २०८०/०८१ मा रु. चार अर्ब ६१ करोड २६ लाख ९० हजार मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको छ ।

निर्यात हुने कृषिजन्य वस्तुहरुमा तरकारी, फलफूल, विरुवा, जडिबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्लिसो, अलैची, काठका हस्तकला सामग्री, मसला बाली, बिउबिजन लगायत छन् । चिराइतो (जडिबुटी) बाहेक अन्य सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो चाहिँ भारत र बंगलादेश दुबै मुलुकमा निर्यात हुन्छ ।

यसैगरी, आयात हुने कृषिजन्य वस्तुहरुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटविरुवा, जडिबुटी, दाल, लसुन, आलु, ब्रान लगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो ।

काँकडभिट्टा नाका भएर आयात हुने खाद्यान्न वस्तुमा मकै, फापर, कोदो र पपकर्न रहेको छ । यस नाकाबाट उक्त अवधिमा जम्मा रु. ९१ करोड ५६ लाख ८१ हजार मूल्य बराबरको खाद्यान्न वस्तु आयात भएको छ ।

आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै रहेको छ । कार्यालयको तथ्यांक अनुसार रु. चार अर्ब, ८७ करोड ६५ लाख १५ हजारको ताजा फलफूल र रु. चार अर्ब ५६ करोड २३ लाख ८० हजारको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।

निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा रहेको चिया, अम्लिसो, अदुवा र प्लाइउड भारत जाने गरेको छ । भारतवाहेकको मुलुकमा निर्यात थोरै रहेको छ ।