२ कार्तिक २०८१, शुक्रवार

बंगलादेशबाट फर्किने विद्यार्थीको ताती (हेर्नुहोस् फोटोहरु)

६ साउन २०८१, आइतवार
Image

काँकरभिट्टा, ६ साउन । बंगलादेशको हिंसात्मक विद्यार्थी आन्दोलनको भुंग्रोबाट जोगिएर स्वदेश फर्किने नेपाली विद्यार्थीहरुको लर्को लाग्न थालेको छ ।

बिगत सात दिनमा पूर्वीनाका काँकरभिट्टा बंगलादेशबाट ७०० भन्दा बढी विद्यार्थी स्वदेश फर्किसकेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो । 

आज एकै दिन २०० भन्दा बढी विद्यार्थी काँकरभिट्टा आइपुगेका छन् । आज दिनभर छिनछिनमा पानीटंकीबाट सिटी रिक्सा र ट्याक्सी चढेर अध्यागमन परिसर काँकरभिट्टामा विद्यार्थीहरु आउने क्रम जारी रह्यो ।

इटहरी घर बताउने रंगपुर मेडिकल कलेजकी विद्यार्थी भावना राईले कलेजको नौ वटा बसले आज भारतको बोर्डर फुलबारी नाकासम्म सुरक्षाकर्मीको स्कर्टिङसहित ल्याएपछि स्वदेश फर्किन पाएको बताउनुभयो ।

उहाँले कलेजको नौ वटा बसमा ४०० विद्यार्थी बंगलादेशबाट फर्किएको र त्यसमध्ये २०० विद्यार्थी भारत र भूटानकै रहेको बताउनुभयो ।

सुर्खेतकी रेणुका गुरुङ र काठमाडौंकी समृद्धि थापा आजै बंगलादेशबाट काँकरभिट्टा आइपुग्नु भएको छ । बंगलादेशमा इन्टरनेटको लाइन काटिएको हुँदा लामो समयदेखि परिवारका सदस्यसँग कुराकानी गर्न नपाएको उहाँले गुनसो सुनाउनुभयो । 

पानी मात्र पिएर भोकै आइपुगेका नेपाली विद्यार्थीहरुले काँकरभिट्टा आएर सबैभन्दा आफ्नो घरमा फोन गरेर आफु स्वदेश आइपुगेको जानकारी दिने गरेका थिए ।