२ कार्तिक २०८१, शुक्रवार

पुष्पलाल स्मृति दिवसमा वीपीलाई पनि सम्मान

७ साउन २०८१, सोमवार
Image

मेचीनगर, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसमा नेकपा एमाले मेचीनगरले आज कार्यक्रम सम्पन्न गरेको छ ।

काँकरभिट्टास्थित वीपी पुष्पलाल बाटिकामा रहेको कमरेड पुष्पलालको पूर्णकदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो । सोही स्थानमा रहेको नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको सालिकामा समेत माल्यार्पण गरिएको थियो ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले कमरेड पुष्पलालको जीवनी र योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

एमाले झापाका अध्यक्ष गिरीले वीपी र पुष्पलाल दुबै नेताले नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो ।

पार्टीका नगर समिति अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, पूर्वसांसद् श्रीप्रसाद मैनाली, नेताहरु देबकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

नगर सचिव सागर ओलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । अनेरास्ववियू मेचीनगरले पुष्पलाल स्मृति दिवसकै अवसर पारेर मेची सामुदायिक भवनमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

आइतवार नेपाली कांग्रेस मेचीनगरले यही बाटिकामा वीपी स्मृति दिवस मनाएको थियो । त्यसबेला समेत कांग्रेस नेताहरुले वीपी र पुष्पलाल दुबैको सालिकमा रुद्राक्षको माला अर्पण गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद् गोपाल तामाङ लगायतका अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।