२३ भदौ २०८१, आइतवार

पर्यटक लोभ्याउँदै ‘वीपी–पुष्पलाल बाटिका’

७ साउन २०८१, सोमवार
Image

झापा, ७ साउन । सुदूरपूर्वी मेचीनगर नगरपालिकाको वडा नं. ६ काँकडभिट्टामा रहेको ‘वीपी–पुष्पलाल बाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

काँकडभिट्टा बजार क्षेत्रमै जोडिएको कारण वाटिकामा दिनहुँ आन्तरिक र वाह्य पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फुलवारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय वीपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । 

वि.सं. २०४६ सालमा नेपाली कांग्रेस र संयुक्त बाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनान्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको वहाली भएपश्चात प्रजातान्त्रिक आन्दोलनको शीर्ष नेताद्वय वीपी र पुष्पलालको एउटै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउनुभयो ।

सोही अवधारणा अनुसार नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय नेताहरुले वीपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाईमा वि.सं. २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद् श्रीप्रसाद मैनालीले वीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गर्नु भएको थियो ।

वि.सं. २०८० जेठ ७ गते वाटिकासहित दुबै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गर्नुभयो । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कठ्ठा जग्गामा निर्मित वीपी पुष्पलाल वाटिकामा दौरा, सुरुवाल र भादगाउँले टोपी पहिरिएको नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ ।

काँकडभिट्टासम्म घुम्नका लागि भारत र बंगलादेशबाट आउने पर्यटकहरु यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउनुहुन्छ । “होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरुले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,” उहाँ भन्नुहुन्छ–“हामी उनीहरुलाई यही वीपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं । त्यहाँ घुमेर फोटो खिच्छन् । टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।”

वाटिका निर्माण समितिका अध्यक्ष समेत रहनु भएको तामाङले वाटिकामा कोशी प्रदेश सरकारको रु. ३० लाख र मेचीनगर नगरपालिकाको रु. पाँच लाख लगानी भइसकेको बताउनुभयो । वाटिकाको सौन्दर्यकरण अभिवृद्धिका लागि अझ केही बजेट आवश्यक रहेको उहाँले बताउनुभयो ।

राजनीतिक तीर्थस्थल

नेपाली राजनीतिमा सबैभन्दा सम्मानित नेताको रुपमा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई मानिदै आएको छ ।

दुबैको सालिक एउटै वाटिकामा अन्यत्र पाउन गाह्रो भएको हुँदा काँकडभिट्टाको यो वाटिका कांग्रेस र कम्युनिस्ट दुबै विचारका अुनयायीका लागि राजनीतिक तीर्थस्थल जस्तो बनेको नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्की बताउनुहुन्छ ।

“कमरेड पुष्पलालको स्मृति दिवसमा साउन ७ गते हरेक वर्ष हामी यही वाटिकामा भेला भएर श्रद्धासुमन अर्पण गर्दै उहाँको योगदानको स्मरण गर्छौ,” एमाले नगर अध्यक्ष कार्कीले भन्नुभयो–“ठिक एक दिन अघि नेपाली कांग्रेसका साथीहरु पनि यही वाटिकामा भेला भएर लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता वीपी कोइरालाप्रति श्रद्धासुमन अर्पण गर्नुहुन्छ ।”

यसवर्ष सोमवार पुष्पलाल स्मृति दिवस कार्यक्रममा भेला भएका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले एउटै स्तम्भमा दुईतिर अडिएका पुष्पलाल र वीपीप्रति समान आदरभाव प्रकट गरे । आइतवार नेपाली कांग्रेस मेचीनगरले यही स्थानमा श्रद्धाञ्जलि समारोहको आयोजना गर्दा वीपी र पुष्पलाल दुबैको सालिकमा रुद्राक्षको माला लगाएर कांग्रेस नेता तथा कार्यकर्ताले श्रद्धासुमन अर्पण गरेका थिए । एमाले नेता तथा कार्यकर्ताले दुबै सालिकमा सयपत्री फुलको माल्र्यापण गरेका थिए ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य मीना उप्रेतीले नेपालमा जहानियाँ राणाशासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र ल्याउन जनआन्दोलनको नेतृत्व गर्नुभएको वीपी कोइराला र पुष्पलाल श्रेष्ठले पञ्चायती निरंकुश व्यवस्थाको अन्त्यका लागि समेत अथक संघर्ष गर्नु भएको बताउनुभयो ।

“भिन्न विचारका भए पनि उहाँहरुले नेपाली जनतालाई स्वाधीन, सार्वभौम, सुखी र समृद्ध बनाउन जीवनभर संघर्ष गरिरहनु भयो,” उप्रेतीले भन्नुभयो–“एउटै वाटिकामा दुबै सम्मानित नेताको सालिक राख्न पाउनु अत्यन्त गौरवको विषय हो । राजनीतिमा सहिष्णुता, एकता र सहकार्यको ठूलो महत्त्व हुन्छ । त्यहीकारण मेचीनगरले यो वाटिकालाई थप प्रवर्धन गर्दै जाने नीति लिएको छ ।”