२ कार्तिक २०८१, शुक्रवार

मेचीनगर

बढ्दैछ आन्तरिक आम्दानी : पोहोर ११ करोड उठ्यो, यसपाली १३ करोड

७ साउन २०८१, सोमवार
Image


मेचीनगर, ७ साउन । मेचीनगर नगरपालिकाको राजस्व संकलनको अवस्था उत्साहजनक रुपमा सुध्रिएको छ । विगत वर्षको तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा नगरको उठ्ती राजस्व लगभग दुई करोड रुपैयाँ बढेको छ ।

राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीका अनुसार आव २०८०/०८१ मा १३ करोड ५२ लाख पाँच हजार ८९७ रुपैयाँ राजस्व संकलन भएको छ । 

जबकि आव २०७९/०८० मा ११ करोड ६१ लाख २१ हजार ६९७ रुपैयाँ मात्र राजस्व उठेको थियो ।

बितेका दुई वर्षको तुलना गर्दा पछिल्लो वर्षमा लगभग दुई करोड रुपैयाँ बढी राजस्व उठाउन नगरपालिका सफल भएको देखिन्छ ।

वडा नं. ६ धेरै उठाउनेमा पहिलो

बढी आन्तरिक राजस्व सकलन गर्नेमा वडा नं. ६ मेचीनगरको पहिलो बनेको छ ।

नगरमा १५ वटा वडा छन् । जसमध्ये वडा नं. ६ ले एक वर्षमा सबैभन्दा बढी अर्थात् एक करोड ७६ लाख २७ हजार ७०१ रुपैयाँ राजस्व उठाएको छ । 

सवैभन्दा कम राजस्व उठाउने वडा नम्बर ५ हो । जसले २२ लाख ४९ हजार ८९१ रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । 

दोस्रो सबैभन्दा बढी राजस्व उठाउने १० नम्बर वडा हो । जसले एक करोड ६३ लाख ९९ हजार ५४५ रुपैयाँ राजस्व संकलन गरेको उपशाखाले जनाएको छ ।

वडा नम्बर ३ ले ३३ लाख ५१ हजार ६०५ रुपैयाँ, वडा नम्बर ४ ले २६ लाख १७ हजार ३८२ रुपैयाँ, वडा नम्बर ७ ले ७७ लाख ७० हजार ३१८ रुपैयाँ, वडा नम्बर ८ ले ५१ लाख ४३ हजार १९७ रुपैयाँ, वडा नम्बर ९ ले ६८ लाख ५२ हजार ६६२ रुपैयाँ, वडा नम्बर ११ ले ३५ लाख ६६ हजार ५५ रुपैयाँ, वडा नम्बर १२ ले ३६ लाख ८६ हजार ६८९ रुपैयाँ, वडा नम्बर १३ ले ६५ लाख ५२ हजार ८९० रुपैयाँ संकलन गरेको छ । 

यसैगरी, वडा नम्बर १४ ले ४७ लाख ७९ हजार ८२६ रुपैयाँ र वडा नम्बर १५ ले ५९ लाख ४९ हजार ७६४ रुपैयाँ राजस्व संकलन गरेको उप्रेतीले जानकारी दिनुभयो ।

वडागत रुपमा सवैभन्दा बढी सम्पत्ति कर संकलन गर्नेमा वडा नम्बर १० पहिलो बनेको छ । जसले एक वर्षमा ५९ लाख ७९ हजार ४३ रुपैयाँ सम्पत्ति कर संकलन गरेको छ । 

अब १६ करोड उठाउने लक्ष्य 

चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरको कूल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रुपैयाँको रहेको छ । 

जसमा १६ करोड ७७ लाख रुपैयाँ आन्तरिक आय संकलन गरिने लक्ष्य लिइएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताउनुभयो ।