२३ भदौ २०८१, आइतवार

विजय खरेलको स्मृति ग्रन्थको लोर्कापण

८ साउन २०८१, मङ्गलवार
Image

धुलाबारी, ८ साउन । सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टामा साहित्यकार विजय खरेलको स्मृति ग्रन्थको मंगलबार लोर्कापण गरिएको छ । साहित्यकार  खरेलले रचना गर्नुभएको लोकगीतको समेत आज लोकार्पण गरिएको थियो ।

भाषाविद् प्राध्यापक डा. जिवेन्द्रदेव गिरीले पाँच सय पृष्ठको ११३ जना सर्जकद्वारा लिखित ग्रन्थको लोर्कापण गर्नुभएको हो । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा खरेलको स्मृति ग्रन्थको चर्चा उहाँको सहोदर भाई डा. दशरथ खरेल र साहित्यकार भुवन सुब्बा खरेलले गर्नुभएको छ । 

उहाँहरु दुवै जनाले पुस्तकलाई चार खण्डमा विभाजन गरेर प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, पत्रकार चन्द्र भण्डारी, अधिवक्ता लीला उदासी, राम कट्टेल, कृष्णराज घतानीलगायतले खरेलले साहित्यको माध्यमबाट समाज रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा सुसेली प्रतिभा पुरस्कारबाट केसाङ लामा पुरस्कृत हुनुभएको छ । उहाँलाई साहित्य र कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप पुरस्कृत गरिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलले बताउनुभयो । 


कार्यक्रममा स्व विजयकी छोरी जयन्ती खरेलले बुबाका नाममा अक्षयकोष स्थापनाका लागि संस्थाका अध्यक्ष खरेललाई रु. एक लाख राशीको चेक हस्तान्तरण गर्नुभएको छ । उहाँले साहित्यकार बुबाको नाममा प्रतिष्ठान गठन गर्ने समेत कार्यक्रममा बताउनुभयो । 

संस्थाका सचिव कनक कार्कीले सञ्चालन गरेको कार्यक्रममा सुभ्रदा भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।