करिब १८ बर्षअघि जनसंसद् दैनिक पत्रिकाको कार्यालयमा ‘मेरो यो कविता छ, तपाईको ‘सुसांख्य’मा ‘टङ्कन’ गरिदिनु पर्यो’ भन्दै एकजना अग्रज व्यक्ति आउनुभयो । उहाँले यसो भनेपछि पुलुक्क हेरें– विजय सर हुनुहुँदोरहेछ । तर कुरा बुझिन । अलमलमा परें । बेला बेला उहाँ कार्यालयमा आइरहनु हुन्थ्यो । “ए अम्बिका बहिनी कुरा बुझ्नु भएन, छिटो न म आफैं ‘सही गलत’ पनि हेरेर जान्छु”–उहाँले मुस्कुराउँदै सम्झाउनुभयो । हातमा थमाइदिनु भएको कागज सरसर्ती हेरेँ । तत्कालीन शाही सरकारविरुद्ध लेखिएको व्यङ्ग्य कविता रहेछ । शीर्षक बिर्सें । बिल्कुलै झर्रो शैली र शब्दमा उहाँले मलाई अह्राउनु भएको काम बुझेपछि मनमनै हाँस उठ्यो ।
उहाँ नेपाली भाषा शुद्ध हुनुपर्छ, शुद्ध बोल्नुपर्छ र शुद्ध लेख्नुपर्छ भन्नुहुन्थ्यो । ‘हाम्रो भाषा अंग्रेजी होइन’– उहाँ भन्ने गर्नुहुन्थ्यो । उहाँले ‘कम्प्यूटर’ कहिल्यै भन्नु भएन । ‘सुसांख्य’ भन्नुहुन्थ्यो । ‘टाइप’को साटो ‘टङ्कन’ भन्नुहुन्थ्यो । ‘प्रुफ रिडिङ’को साटो ‘सही गलत’ भन्नुहुन्थ्यो । मेरो नेपाली टाइपिङ राम्रो थियो । उहाँ कथा, कविता र व्यंग्य लेखेर पत्रिकामा छाप्नका लागि कार्यालयमा आइरहनु हुन्थ्यो । उहाँका लेख रचना टाइपिङ गरेर सहयोग पुर्याउँथे । सुरुसुरुमा ‘बहिनी’ भन्नुहुने उहाँले पछि मलाई ‘छोरी’ भनेर बोलाउन थाल्नुभयो । मलाई पनि आफ्नै बुबा जस्तो लाग्थ्यो उहाँ ।
एकदिन ‘अंकल’ भनेर सम्बोधन गर्दा उहाँ रिसाउनु भयो । “नेपाली भएर नेपाली शब्द बोल्न आउँदैन ?,” रिसाएकै मुडमा उहाँले भन्नुभयो–“अंकल सङ्कल होइन, काका भन्नु ।” झसंग भएँ । उहाँको कुरो सही लाग्यो । त्यस दिनदेखि मैले उहाँलाई कहिल्यै ‘अंकल’ भनिन । उहाँ आफु पनि ठेट नेपाली शब्द बोल्नुहुन्थ्यो र अरुले पनि त्यस्तै बोलुन् भन्ने चाहनुहुन्थ्यो । अर्को कुनै दिन ‘सर’ भनेर सम्बोधन गरिछु । झण्डै सातो लिनुभयो । ‘के को सर, कता सर, किन सर ?”–उहाँ निकै चर्किनुभयो । नेपाली शब्द भण्डारमा सम्बोधनका प्रशस्त शब्द भएकाले अंग्रेजको शब्द सापटी लिनुपर्दैन भन्ने उहाँको धारणा साह्रै मन पर्यो ।
अर्को कुनै दिन बिजय काका ‘पूर्वका मोतिराम’को उपमा पाउनु भएका प्रसिद्ध साहित्यकार चुडामणि रेग्मी र वरिष्ठ आख्यानकार पुण्यप्रसाद खरेलसहित लोकतन्त्र पोस्ट दैनिकको कार्यालय काँकरभिट्टामा टुप्लुक्क आइपुग्नुभयो । २०७१ सालमा हामीले जनसंसद् दैनिक छाडेर लोकतन्त्र पोस्टको प्रकाशन सुरु गरेका थियौं । उहाँले कार्यालयको ढोकाबाट छिर्ने बित्तिकै मन्दमुस्कान छर्दै भन्नुभयो– “अम्बिका छोरी, तपाईले मलाई धेरै सहयोग गर्नुभयो । अब चुडामणि गुरुलाई लिएर आएको छु । उहाँको पनि काम फत्ते गरिदिनु पर्यो ।” तीन चार वटा पुस्तक मेरा हातमा थमाइदिनुभयो र थप्नुभयो–“ल, यी पोस्तक पढेर एउटा समीक्षा लेखिदिनु पर्यो । मोदनाथ प्रश्रितलगायत देशभरका वरिष्ठ साहित्यकारहरु काँकरभिट्टा आउँदै हुनुहुन्छ । एक हप्तापछि आयोजना हुने कार्यक्रममा छलफलका लागि त्यो समीक्षा प्रस्तुत गर्नुपर्छ ।”
मेरो हातमा थमाइएका पुस्तकहरु साहित्यकार कविता पौडेल अर्थात प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितकी पत्नीका बारेमा लेखिएका र उहाँको आफ्नै आत्मकथा थिए । उहाँहरु जिम्मेवारी दिएर जानुभयो । मैले कविता पौडेलका बारेमा लेख्नका लागि किताबहरु गहिरोसँग अध्ययन गर्नुपर्ने भयो । तर, मलाई भने नदुखेको टाउको दुख्न थालिसकेको थियो । बाफ रे, यत्रा किताब कहिले पढिसक्नु र समीक्षा लेख्नु, मेरो मनमा डर उब्जिरहेको थियो । चार पटक जति पुस्तक ओल्टाइपल्टाई हेरँे र ब्यागमा घुसारेँ ।
पत्रिकाको काम सकेर राति ८ बजेतिर घर पुगियो । छोराहरु मौसम र मनसुन ढोकाबाट खुुरुरु बाटैसम्म आएर र्याउँ र्याउँ गर्दै भन्न थाले–“मामु भोक लाग्यो, किन ढिलो आउनु भा’को ।” छोराहरुको निन्याउरो मुख देखेर मन अमिलो भयो । ब्याग पलङमा हुत्याएर उनीहरुलाई मुसार्दै खाना बनाउन भान्सातिर लागेँ । परिवारका सबैलाई खाना खुवाउँदा र घरधन्दा सक्दा रातिको करिब १० बजिसकेको थियो । छोराहरु पलङमा निन्द्राले लोलाउन थालेपछि विजय काका, चुडामणि गुरु र पुण्य सरले दिनुभएको पुस्तकका पाना नियाल्न थालेँ । कविता पौडेलले लेख्नु भएको आत्मकथा, कथा र उपन्यासको पुस्तक रहेछन् । आत्मकथा पढ्न सुरु गरें । करिब रातको २ बजेपछि आँखाले काम गर्न छाड्यो । पढिरहेको पाना दोब्राएर किताब थन्क्याए ।
भोलिपल्टै पुस्तक पढेर सिध्याएँ । तर, कसरी लेख्ने मेसो नै भएन । आफुले काम गर्ने पत्रिकाका सम्पादक मोहन काजी, भाषा सम्पादक दामोदर ढुंगेल र कार्यकारी सम्पादक सन्तोष आचार्यसँग सुझाव मागेँ । निकै मिहेनतसाथ समीक्षा तयार पारेँ । मेरा लागि यो जिम्मेवारी महत्त्वपूर्ण अवसर थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रख्यात मोदनाथ प्रश्रित, भाषाविद् चुडामणि रेग्मी जस्ता साहित्यकारहरु सहभागी हुने कार्यक्रममा प्रस्तुत हुने समीक्षात्मक लेख तयार पार्ने जिम्मेवारी बिजय काका र पुण्य सरकै कारणले पाएको थिएँ ।
कार्यक्रमको अघिल्लो दिन विजय काका लोकतन्त्र पोस्टको कार्यालयमा आएर भन्नुभयो–“तपाईले काम फत्ते गर्नुभयो, अम्बिका ?” मैले मुण्टो हल्लाएर सहमति जनाए । उहाँले के लेख्नुभयो भनेर सोध्नु भएन । ‘झापाको इज्जत राखेस्’ भन्दै उहाँ ढुक्क भएर जानुभयो । कार्यक्रम भयो । प्रस्तुति पनि सकियो । व्यस्तताका कारण त्यसदिन काकासँग हेराहेर बाहेक प्रस्तुतिका विषयमा कुराकानी हुन पाएन । पुण्य सरले चाहिँ प्रस्तुति सकिने बित्तिकै कानेखुशी गर्दै भन्नुभयो–‘ल धेरै राम्रो, तपाईलाई बधाइ छ । यत्तिको लेख्नु होला भन्ने मैले पनि मेसो पाएको रहेनछु ।’ पुण्य सरको भनाईले फुरुक्क भएँ । तैपनि बिजय काकाको प्रतिक्रिया नआएसम्म मन ढुक्क भएन ।
कस्तो भयो होला ? बिजय काकाले राखेको अपेक्षा पूरा भयो कि भएन भनेर मनमा ढ्यांग्रो बजिरहेको थियो । म पत्रिकाको नियमित कामकाजमा फर्किसकेको थिएँ । केही दिनपछि बिजय काका फेरि कार्यालयमा टुप्लुक्क आइपुग्नु भयो । मन ढुकढुक हुँदैथियो । ढोकाबाट पस्दै काकाले ठूलो स्वरमा भन्नुभयो–“लु हर्कबढाई छ, छोरी अम्बिका । हाम्रो मात्र होइन झापालीको इज्जत धान्ने मान्छे छानेकोमा धेरै खुशी छु । तर, धेरै नमात्तिनु नि, धैर्यवान बन्नु । अझै प्रगति भएको देख्ने इच्छा छ ।” काकाको अनुहार चिहाएर हेरेँ–हँसिलो थियो । बल्ल ढुक्क भयो । झापाको इज्जत बढेको भन्ने उहाँको फुक्र्याइले मलाई लेखन क्षेत्रमा आज पनि उत्तिकै प्रेरित गरिरहन्छ ।
बिजय काका शालिन, भद्र, नम्र र प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको हरेक बोलीमा नेपाली माटोको सुगन्ध आउँथ्यो । जस्तो बोल्नुहुन्थ्यो, त्यस्तै लेख्नु हुन्थ्यो । नेपाली ठेट शब्दको उहाँ भण्डार नै हुनुहुन्थ्यो । उहाँकी छोरी जयन्ती खरेल मेरो साथीसरहकी बहिनी हुनुहुन्थ्यो । बिजय काकाले मलाई छोरी भनेर सम्बोधन गर्न थालेपछि जयन्ती खरेलले मलाई दिदी भनेर सम्बोधन गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । तर, उहाँले मलाई भाउजु नै भनेर बोलाउनु हुन्छ ।
उहाँसँगका थुप्रै भेटघाटका क्षणहरु स्मरणीय छन् । उहाँ आर्जे (जोखाना) पनि हेर्नुहुन्छ भनेर मैले काँकरभिट्टाकी आदरणीय अग्रणी सहकारी अभियन्ता दिदी सावित्रा खड्काबाट थाहा पाएको थिएँ । म कार्यालयतर्फ जाँदै थिएँ । खबर सोधनी क्रममा एक महिना अघि आफूले गहना हराएको उहाँलाई सुनाएँ । उहाँले विजय काकालाई भेटेर आर्जे हेराउन सुझाव दिनुभयो । तपाईको सामान कहाँ छ उहाँले भनिदिन सक्नुहुन्छ भनेर ठोकुवा गर्नुभयो । काकाको घर अगाडि सानो काठको घुम्ती पसल थियो । उहाँलाई भेट्न त्यहीँ पुगेँ । सावित्रा दिदीले सिकाए अनुसार दुई हात देखाउँदै काकालाई भनेँ–“आर्जे” । काका छक्क पर्नुभयो । अनि यसो हात हेर्दै भन्नुभयो–“गहना हराएको रहेछ, घरमा गएर खोजेजस्तो गर्नु । घरकै मान्छेले राखिदिनु भएको छ । दिइहाल्नुहुन्छ ।” नभन्दै बेलुका घर आएपछि त्यसै गरेँ । मोहन सरले के खोजेको भन्दै सोध्नुभयो । मैले गहना भनेँ । “बेहोशी, कहिले खोज्दिरहेछौ भनेर जतनले राखिदिएको छु, बल्ल एक महिनापछि याद आयो होइन ?”–यति भनेर उहाँले औंठी, मंगलसूत्र र टप हातमा राखिदिनुभयो । खुशीको सीमा नै रहेन । विजय काकासँग यस्तो कला पनि छ भन्ने यसअघि थाहा पाएकी थिइन ।
उहाँ आर्जे हेर्ने कामलाई व्यावसायिक रुपमा गर्नुहुँदोरहेनछ । पछि भेट हुँदा भन्नुभयो–“तपाईकै भएर मात्र हेरिदिएको हुँ । अरु कसैलाई पनि काकाले आर्जे हेर्नुहुन्छ भन्दै हल्ला नगर्नु नि, मलाई कसैको जोखना हेर्न मन छैन ।”
काकासँग कुराकानी गर्न साहैं रमाइलो लाग्थ्यो । उहाँले बोलीचालीमा प्रयोग गर्ने हरेक शब्दबाट केही न केही कुरा सिकेको महसुस हुन्थ्यो । बेला बेला काकाको घुम्तीमा जान्थे । उहाँले पनि केही नयाँ पुस्तक दिएर पठाउनुहुन्थ्यो । मट्याङ्ग्रा, गुलेली, उट्पट्याङ, उरन्ठेउला, उकुर्जी, तोरीका फूल, बेकामे, पोस्तक लगायतका उहाँले प्रयोग गर्ने शब्दहरुले बोलीचालीमा मिठास आउँथ्यो ।
एकदिन घुम्तीमा चिना कोर्दै गरेको भेटेँ । “अर्को कला पनि थाहा पाइयो”–भैले प्वाक्क भनिहालेँ । मेरो बोली सुनेर यसो माथि मुन्टो उठाउनु भयो र फिस्स हाँस्नुभयो । “ए हो र, । के कामले आइयो त आज ? फेरि गहना त हराएको छैन नि ?”–काकाले ठट्टा गर्दै सोध्नुभयो । मेरो पनि चिना बनाउनु थियो नि भनेर सुनाएँ । मेरो पुरानो चिनाटिपन हराएको थियो । जन्म मिति र समय सोध्नु भयो । मैले टिपाएँ । भोलिपल्ट काकाले फोन गरेर बोलाउनुभयो । म गएँ । काकाले अह्राउँदै भन्नुभयो–“तिम्रो जन्म मिति र समय मिलेको देखिएन । आमालाई राम्रोसँग सम्झिएर भन्नु भनँ ।” मैले आमालाई सोधें । तर ठ्याक्कै समय नै त भन्न सक्नुभएन । तर पनि गते र बार भन्नुभयो । आमाले दिएको गते र बार एकै दिन परेनछ । उहाँले फेरि “बार सही कि गते” भनेर सोध्नु भन्नुभयो । विहीबार जन्मेको भन्ने कुरा बुबा आमा, फुपूको मुखबाट सानैदेखि सुन्दै आएकी थिएँ । त्यही कुरा काकालाई सुनाएँ । उहाँले अघिपछिको बिहीवार खोजेर चिना बनाइदिनुभयो । त्यसैदिन दिनदेखि मेरो जन्मदिन मनाउने मिति पनि फेरियो । उहाँले चिना हेरेर भनेको कुरा अहिले पनि याद छ– “भाग्य बलियो रहेछ, ग्रह पनि त्यस्तै ।”
आज बिजय काका यस धर्तीमा हुनुहुन्न । तर उहाँसँगका हरेक क्षण स्मृतिमा गडिएर बसेको छ । उहाँले सामाजिक, राजनीतिक, साहित्य लगायतका क्षेत्रमा पुर्याउनु भएको योगदानले काका हामी सबैको हृदयमा बाँचिरहनु भएको छ । उहाँ अमर बन्नुभएको छ । अंग्रेजी भाषाको विरोधी नै त उहाँलाई भन्न मिल्दैन । तर, नेपाली भाषाको मौलिकता जोगाउनु पर्छ भन्ने उहाँको जोडबल थियो । उहाँ अमेरिका जानुभएको थाहा पाएको थिएँ । उतै बिरामी परेको खबरले सबैलाई चिन्तित तुल्याएको थियो । तथापि निधन नै होला भन्ने एकपल पनि कल्पना गरिएको थिएन । उहाँले अंग्रेजी भाषा बोल्नेहरुकै देशमा अन्तिम श्वास फेर्नुभयो । उहाँको जीवनको यो अनौठो संयोग थियो । उहाँको भौतिक देह यस धरतीबाट बिलीन भए तापनि झर्रो शब्द प्रयोग गरिएका उहाँका प्रेरक बचनहरु मेरो मानसपटमा अहिले पनि उत्तिकै ताजा छन् ।
विजय खरेल स्मृति ग्रन्थबाट साभार