२३ भदौ २०८१, आइतवार

विर्तामोडमा सामुदायिक तरकारी विक्री केन्द्र

९ साउन २०८१, बुधवार
Image

झापा, ९ असार । विर्तामोड नगरपालिकाले नगरवासीलाई विषादिरहित अग्र्यानिक तरकारी खुवाउने उद्देश्य राखेर १० वटा सामुदायिक तरकारी विक्री केन्द्र सञ्चालनमा ल्याएको छ । जसमा छ वटा विक्री केन्द्र र चार वटा संकलन केन्द्र रहेका छन् । 

‘पारीको होइन बारीको खाउँ’ भन्ने मूल नारा नै राखेर कृषि क्षेत्रमा काम गर्दै आएको पालिकाले किसानले उत्पादन गरेको तरकारी विक्री गर्न केन्द्र सञ्चालन गरेको हो ।

पालिकाले विभिन्न तरकारीका ब्लक क्षेत्रहरु नै घोषणा गरेर किसानलाई अग्र्यानिक तरकारी खेतीका लागि प्रोत्साहन गर्दै आएको छ । किसानले उत्पादन गरेको तरकारी पालिकाले खरिद गर्ने र उपभोक्तासम्म पुर्याउन विक्री केन्द्र सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताउनुभयो । 

“नगरबासीलाई स्वस्थ राख्न पनि हामीले अग्र्यानिक तरकारी खेतीका लागि किसानलाई अनुदान दिएर प्रोत्साहन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “अब भारतबाट आयतीत तरकारी विस्थापित गरेर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउँछौं ।” उहाँले पालिकाका ११७ जना किसानले व्यवसायिक तरकारी खेती गरिरहेको जानकारी दिनुभयो ।

विगतदेखि नै सूचीकृत किसानलाई मल, विउ, सिंचाई र उपकरण खरिदमा पालिकाले अनुदान प्रदान गर्दै आएको बताउनुभयो । पालिकामा पाँच कठ्ठादेखि छ विगाह जमिनमा व्यवसायिक रुपमा मौसमी र बेमौसमी तरकारी खेती गर्ने किसान रहेका छन् ।

सामुदायिक तरकारी विक्री केन्द्रका लागि पालिकाले आवश्यक पूर्वाधार तयार गर्ने प्रत्येक केन्द्रलाई रु एक लाख ५० हजारका दरले अनुदान उपलब्ध गराएको छ । उहाँका अनुसार नगरका विभिन्न स्थानमा किसानहरुकै समिति बनाएर संकलन केन्द्र र उपभोक्ताहरुको समिति बनाएर विक्री केन्द्र सञ्चालन गरिएको छ । किसान र उपभोक्ता मिलेर तरकारीको मूल्य निर्धारण गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले बिर्तामोड नगरपालिकाले कार्यक्रम सफल बनाउन चालु आर्थिक वर्ष भित्रै तरकारी संकलनका लागि एउटा गाडीसमेत खरिद गर्ने योजना अघि सारेको बताउनुभयो । पालिकाले चालु आर्थिक बर्षमा कृषि क्षेत्रमा मात्र रु. एक करोड रकम विनियोजन गरेको शाखा प्रमुख कडरियाले बताउनुभयो । 

प्रत्येक पालिकाले किसानहरुलाई प्राथमिकतामा राखेर विर्तामोड नगरपालिकाले झै काम गर्ने हो भने तरकारीको लागि भारतको मुख ताक्नुपर्ने कार्यको अन्त्य हुने मेचीनगर नगरपालिका सामाजिक अभियन्ता जानुका ओलीले बताउनुभयो । 

गत आर्थिक बर्षमा भारतबाट पूर्वी नाका हुँदै रु चार अर्ब, ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार ११९ मेट्रिक टन फर्सी, गोलभेडा, हरियो खुर्सानी, भिण्डी, घिरौला, लौका, चटेला, काँचो कटहर, स्कूशलगायतका तरकारी आयत भएको क्वारिन्टन कार्यालय काँकडभिट्टा कार्यालयले जनाएको छ ।