२३ भदौ २०८१, आइतवार

अस्ताए ‘रिटिङ रिटिङ नबजाउ बिनायो’का गायक जोशी

११ साउन २०८१, शुक्रवार
Image

झापा, ११ साउन । नेपाली लोकसंगीत क्षेत्रका उज्ज्जल नक्षत्र गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा विहीवार साँझ झापाको दमकस्थित लाइफलाइन अस्पतालमा निधन भएको छ ।

दमक–१ स्थित निजी निवासमा साँझ ८ः३० बजेतिर उहाँ बेहोश भएपछि उपचारका लागि अस्पताल पुर्याइएको उहाँका भाई नारायण जोशीले बताउनुभयो । चिकित्सकहरुले अस्पतालमै उहाँको निधन भएको घोषणा गरेका थिए ।

वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मनु भएको जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उहाँले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ’ लगायतका दर्जनौं कालजयी गीत गाउनु भएको थियो । पूर्वेली लोकभाका उहाँ गीत गाउनुहुन्थ्यो । ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीत वि.संं २०१७ सालमा रेकर्ड भएको थियो ।

उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नु भएको थियो । उहाँले नौ वटा चलचित्रमा अभिनय गर्नु भएको थियो । लोकका प्रिय गायकको छवि बनाउनु भएको उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला र राजा महेन्द्र शाहको समेत प्रिय हुनुहुन्थ्यो । वीपी कोइरालाले आमसभाहरुमा उहाँलाई गीत गाउन लैजाने गर्नुहुन्थ्यो भने राजा महेन्द्रले दरवारमा बोलाएर गीत गाउन लगाउनुहुन्थ्यो ।

उहाँकी पत्नी वृन्द्धा जोशीको पहिल्यै निधन भइसकेको छ । छोरा मिलन जोशी छन् । उहाँ जमन्थलो धनकुटाबाट चितवन हुँदै झापा आएर स्थायी बसोबास गर्नु भएको हो ।

आख्यानकार एवम् सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधनले नेपाली लोकसंगीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । ‘उहाँ घाँस दाउरा गर्ने भुइँमान्छेहरुको भावना टपक्कै टिपेर संगीतको लयमा ढाल्नुहुन्थ्यो,’ खरेलले शोक व्यक्त गर्दै भन्नुभयो ।

वि.सं.ं २०१३ सालमा उहाँको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो । नेपाली मौलिक गीतहरुको खोजमा मुलुकका सयौं गाउँवेशीहरु घुम्नु भएको र नेपाली लोक संगीतको भण्डारलाई समृद्ध बनाउन योगदान पुर्याउनु भएको हुँदा उहाँलाई देशभित्र र प्रवासमा सयौं पुरस्कार र सम्मान प्राप्त भएको थियो । वि.सं. २०५३ सालमा म्युजिक नेपालबाट उहाँको ‘रिटिङ रिटिङ’ नामको एकल गीति एल्बम बजारमा आएको थियो ।