२ कार्तिक २०८१, शुक्रवार

सहनै नसक्नेगरी बढ्यो गर्मी

१२ साउन २०८१, शनिवार
Image

मेचीनगर, १२ साउन । झापामा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ ।

मेचीनगरको धुलाबारीमा शनिवार (आज) ३५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । शुक्रवार (हिजो) अझ बढी ३८ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।

चर्को घाम र उधुम गर्मीका कारण सर्वसाधारणहरु घरबाट बाहिर निस्किन सकेका छैनन् भने व्यवसायीहरुले पसलमा ग्राहक नआउँदा व्यवसाय ठप्प भएको बताएका छन् ।

गए राति हावा नचलेका कारण गर्मीले निदाउन नसकिएको धेरैजसोको भनाई छ । मेचीनगरको वडा नं. १० को खयरडाँगी क्षेत्रका बासिन्दाले शुक्रवार पटकपटक विद्युत आपूर्ति अवरुद्ध हुँदा गर्मीमा झन् सास्ती थपिएको गुनासो गरेका छन् ।

अत्याधिक गर्मीका कारण राजमार्ग र भित्री सडकमा यात्रुको चाप ह्वात्तै घटेको पाइएको छ ।

बढी गर्मीले गर्दा कतिपयले टाउको दुख्ने, खाना मन नलाग्ने र निन्द्रा नलाग्ने समस्या आएको बताउने गरेका छन् ।

स्वास्थ्य क्षेत्रका जानकारहरुले गर्मीमा अत्याधिक पानी पिउन, घाममा भरसक नहिँड्न, हिँड्नै परे छाता ओढ्न, शितल छहारी र चिसो आउने ठाउँमा बस्न सुझाव दिने गरेका छन् ।