८ कार्तिक २०८१, बिहिवार

हर्क साम्पाङको दुःख : हिजो घटाउन लडे, आज आफै बढाए

१७ साउन २०८१, बिहिवार
Image

धरान, १७ साउन ।  बिगतमा खानेपानी महसुल घटाउन अभियान चलाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अहिले खानेपानी शुल्क ९०० प्रतिशतसम्म बढाएका छन् ।

खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल अत्यधिक वृद्धि गरेको छ । पालिका प्रमुख हर्क साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको हो ।

खानेपानी महसुल वृद्धि गर्दा छलफल नभएको राजनीतिक दल र जनप्रतिनिधिहरूले बताएका छन् ।

मेयर हर्क साम्पाङले एकलौटी रुपमा महसुल वृद्धि गरेपछि जनप्रतिनिधिसहित राजनीतिक दलहरू असन्तुष्ट बनेका छन् । १० राजनीतिक दलहरूले बोर्डको नयाँ नियमविरुद्ध बिहीबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

बिहीबार महसुल घटाउनका लागि सरोकारवालासँग छलफल गर्ने घोषणा गरेका दलले १८ गते सबै वडामा ध्यानाकर्षण पत्र बुझाउने र २० साउनबाट धर्ना सुरु गर्ने बताएका छन् ।

शुल्क वृद्धिको विरोधमा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रबिक्रम बेघासहित जनप्रतिनिधि पनि छन् ।

खानेपानी जडान होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको छ । 

१र२ इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ । ४र३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ ।

१ इन्चको पाइपको १५ हजार रुपैयाँ थियो । अहिले बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । १–१र२ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँ थियो । बोर्डले ५५ हजार रुपैयाँ बढाएर ७५ हजार रुपैयाँ तोकेको छ । त्यस्तै २ इन्चको पाइप जडान शुल्क ७५ हजार बढेर १ लाख रुपैयाँ पुगेको छ ।

होल चेन्जको दस्तुर दर पनि वृद्धि भएको छ । १र२ को पाइपको होल चेन्ज दस्तुर २ हजारबाट बढेर ५ हजार रुपैयाँ पुगेको छ ।

४र३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार बनाइएको छ । १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार, १–१र२ इन्चको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट बढाएर १५ हजार र २ इन्चको होलचेन्ज शुल्क ६ हजारबाट बढाएर २० हजार रुपैयाँ पुर्‍याइएको छ ।

बोर्डले नामसारी शुल्क पनि बढाएको छ । यसअघि १र२ इन्चको मृतकबाट नामसारी गर्दा २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो । यसलाई बढाएर ५ हजार बनाइएको छ ।

नामसारीमा ४र३ इन्चमा ७ हजार ८००, १ इन्चमा ९ हजार ८००, १–१र२ इन्चको धारा नामसारीमा १४ हजार ८०० र २ इन्चको नामसारीमा १९ हजार ८०० सम्म वृद्धि गरिएको छ । यसअघि सबै इन्चको नामसारी शुल्क मृतकबाट २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो ।

पालिकाले मर्मत तथा धारा चेकको शुल्क पनि बढाएको छ । यसअघि सबै इन्चको धारा मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजारसम्म पुर्‍याइएको छ । २ इन्च पाइप जडान भएको स्थानमा मर्मत तथा चेकशुल्क १० हजार पुगेको छ । १र२ को १ हजार, ४र३ को २ हजार, १ इन्च र १–१र२ को मर्मत शुल्क ५ हजार बनाइएको छ ।

जडान भएको इन्चका आधारमा महसुल पनि २० रुपैयाँदेखि ८ हजारसम्म बढेको छ ।

‘हिजो शुल्क घटाउनुपर्छ, धरानलाई निःशुल्क पानी खुवाउनुपर्छ भन्ने मान्छे नेतृत्वमा पुगेपछि अस्वाभाविक रुपमा महसुल वृद्धि गर्नुभएको छ,’ कांग्रेस नगर सभापति श्याम पोखरेलले भने, ‘बढाउनै पर्ने भए समिति गठन गरेर अध्ययनपछि बढाएको भए हुन्थ्यो । यो तरिका व्यावहारिक भएन त्यसकारण शुल्क नघटेसम्म आन्दोलन गर्छौं ।

(स्रोत : अनलाइनखबर)