१ असोज २०८१, मङ्गलवार

जसपाको युवा संगठनको सिंगै कोशी कमिटी माओबादीमा प्रवेश

१९ साउन २०८१, शनिवार
Image

झापा, १९ साउन । जनता समाजवादी पार्टी नेपालको युवा संगठन समाजवादी युवा संघ नेपालका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङसहित सिंगो कमिटी नै नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको छ ।

नवप्रवेशी कार्यकर्तालाई माओबादीले आज विर्तामोडमा एक समारोहबीच स्वागत तथा पार्टी प्रवेश गराएको छ । 

पार्टीको जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा समाजवादी युवा संघ नेपालका कोशी प्रदेश अध्यक्ष केरुङ सहित प्रदेश उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य राजभक्त योङ्ग्या, नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सदस्य छवि गहतराज, महिला उद्यमी जय सुब्बा, नर्वदा कार्की लगायत छन् । 

कार्यक्रममा युवा नेता केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालण्को सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताउनुभयो । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीहरू सलबलाउन थालेको जिकीर गर्दै उहाँले संघीयता, धर्म निरपेक्षता, पहिचान लगायतका मुद्दा उठाउने पार्टीको रुपमा माओवादीलाई रोजेको बताउनुभयो । 

नेपाली कांग्रेस परित्याग गरेका रामभक्त योङयाले १९ वर्षपछि आफू आफ्नै घरमा फर्किएको बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले झापामा २०६४ सालमा माओबादीले चुनाव जितेको इतिहास दोहोर्याउने बताउनु भयो । 

माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै उहाँले अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने बताउनुभयो ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार लगायतका विषयमा जनपक्षीय काम गर्न थालेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबमा दुई दल मिलेको उहाँले दाबी गर्नुभयो । सबै माओवादी घटक अब एक ठाउँमा उभिने अवस्था आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताउनुभयो । 

पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले पार्टी प्रवेश कार्यक्रम कास्टिङ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको दावी गर्नुभयो । 

पार्टीले नवप्रवेशी टाइसन केरुङलाई वाइसीएल प्रदेश कमिटीको सहसंयोजक, झापा अध्यक्ष उपेन्द्र लिम्बुलाई वाईसीएल झापा उपाध्यक्ष, पंकज शेर्पालाई बुद्धशान्ति गाउँपालिका संयोजक, पुकार गुरुङलाई वाइसिएल झापा उपाध्यक्षको जिम्मेवारी दिएको बताउनुभयो । 

प्रदेश उपाध्यक्ष विजय साम्पाङले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय सदस्य हरिकुमार राना, सदस्य धर्मशिला चापागाईं, झापा संयोजक राजु आचार्य अग्नि, वाइसीएलका केन्द्रीय सचिव डम्बर पुलामी लगायतले नवप्रवेशीलाई स्वागत गर्नु भएको थियो ।