८ कार्तिक २०८१, बिहिवार

झापामा वृक्षारोपणको लहर, माओबादीले एक लाख विरुवा रोप्ने

२० साउन २०८१, आइतवार
Image

झापा, २० साउन ः फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियानले झापामा तीब्रता पाउन थालेको छ । जिल्लामा सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा वर्षेनी लाखौं विरुवा रोपिदै आएको छ ।

पर्यावरण संरक्षणको मूल उद्देश्य राखेर नेकपा माओबादी केन्द्रले दमक नगरपालिका क्षेत्रमा एक लाख विरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक नगर कमिटीका सहइञ्चार्ज शंकर बस्नेतले संगठन सुदृढीकरण अभियान अन्तर्गत यसवर्ष ५० हजार र आगामी वर्ष ५० हजार विरुवा रोप्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

उहाँले यसवर्ष २५ हजार विरुवा नगरका १० वटा वडामा रोपिसकेको र पार्टी कार्यालयमा १२ हजार विरुवा भण्डारण गरेर राखिएको जानकारी दिनुभयो ।

“अहिले गाउँ गाउँमा माओबादी केन्द्रलाई ‘विरुवा रोप्ने पार्टी’ भनेर प्रशंसा हुन थालेको छ”– बस्नेतले भन्नुभयो । पार्टीले लिची, आँप, कागती, जामुन लगायतका फल्ने विरुवा रोपिरहेको छ ।

दमक नगरपालिकाका १० वटै वडाका पार्टी कमिटी, टोल समिति र विद्यालयमार्फत वृक्षारोपण अभियान सञ्चालन गरिएको र त्यसमा व्यापक जनउत्साह देखिएको उहाँले बताउनुभयो ।

कोशी प्रदेशको बन मन्त्रालय र डिभिजन बन कार्यालय उदयपुरबाट विरुवा अनुदानमा ल्याएको र केही विरुवा पार्टीले आफ्नै खर्चमा खरिद समेत गरेर वितरण गरेको जनाएको छ ।

डिभिजन बन कार्यालय झापाले यसवर्ष चार लाख ४० हजार विरुवा वितरण गरिने जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले झिलझिले, मेचीनगर, सुरुंगा, भद्रपुर र हल्दिबारीस्थित नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका विरुवा धमाधम वितरण भइरहेको बताउनुभयो ।

निजी बन हुर्काउन चाहनेहरु, वृक्षारोपण अभियान सञ्चालन गर्ने सामाजिक संघसंस्थाहरु र राजनीतिक दलहरुले कार्यालयमा निवेदन दिएर विरुवा माग गर्दै आएको र आवश्यकता पहिचान गरेर विरुवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

बन कार्यालयले लिची, आँप, कटहर, गुलमोहर, रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुशुम, कदम, कल्की लगायतका फलफूलका बिरुवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

शिवसताक्षी– ६ र मेचीनगर– ४ ले वडास्तरमा वृक्षारोपण अभियान सञ्चालन भइरहेको जनाएका छन् । मेचीनगरले एक लाख र शिवसताक्षीले पाँच लाख विरुवा रोप्ने लक्ष्य लिएका छन् ।

वडालाई फलफूलमा आत्मनिर्भर बनाउने र हरियाली वडाको रुपमा विकास गर्ने उद्देश्यले फलफूल र रुखका विरुवा रोप्ने अभियान सञ्चालन भइरहेको शिवसताक्षी– ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । डिभिजन बन कार्यालय दमकबाट ल्याइएका विरुवा वडाबासी कृषकहरुलाई निःशुल्क वितरण गरिदै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अमला, तेजपात, मसला, टिक, गुलमोहर, खमारी, मेन्दुला, टाँकी लगायतका रुख तथा छाँयादार फलपूmलका विरुवा वडाबासीलाई प्रदान गरिएको बताउनुभयो । वृक्षारोपण गरिएका विरुवाको नियमित मलजल र गोडमेल भइरहेको बारेमा वडाले अनुगमन समेत गर्दै आएको छ । 

आगामी तीन वर्षमा वडाका हरेक घर अगाडि र सडक किनारमा छाँयादार, हरियाली र फल फल्ने विरुवा हुर्काउने वडाको कार्यक्रम रहेको छ । वडाले ‘एक घर एक सुपारीका विरुवा’ भन्ने अभियान समेत सञ्चालन गर्ने जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपालले झापामा यसवर्ष ३० हजार विरुवा रोप्ने अभियान रहेको जनाएको छ । संघकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेले असार र साउन महिनामा २५ हजार विरुवा रोपिसकेको बताउनुभयो । सामुदायिक बन र डिभिजन बन कार्यालयबाट विरुवा ल्याउने र कार्यकर्ता परिचालन गरेर वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।

सहिद नेत्र पार्कमा एक हजार ६०० सुपारीका विरुवा, सुखानी सहिद पार्कमा विभिन्न प्रजातिका फूलका विरुवाहरु र खोला किनारमा रुख प्रजातिका विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

“ठाउँ र आवश्यकता अनुसार भिन्नाभिन्नै प्रजातिका विरुवा रोपेका छौं,” उहाँले भन्नुभयो– “हात्ती र बाँदर लगायतका बन्यजन्तुको आश्रयस्थल रहेको सामुदायिक बनहरुमा उनीहरुका लागि आहार हुने फलफूलका विरुवा रोपण गरेका छौं ।”

मेचीनगर–४ को प्रकृति पार्कमा वृक्षारोपण गर्न सामाजिक संस्थाहरुको लर्को नै लाग्ने गरेको छ । मेचीनगर प्रेस क्लव, वान नेपाल, रोटरी क्लव, जेसिज लगायतका संस्थाहरु विरुवा बोकेर वृक्षारोपणका लागि प्रकृति पार्क आउने गरेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । उहाँले यस बर्ष पार्कमा पाँच हजार विरुवा रोप्ने लक्ष्य रहेको सुनाउनुभयो ।