१० मंसिर २०८१, सोमवार

बिदा भएर एयरपोर्ट छिरेपछि थाहा भयो भिसा नक्कली रहेछ

२२ साउन २०८१, मङ्गलवार
Image

झापा, २२ साउन । तीस वर्षीय कृष्ण विश्वकर्मालाई एजेन्टले साउन १४ गते राति ११ बजे फ्लाइट हुन्छ भनेका थिए । योजनाबमोजिम राति करिब ८ बजे उनको बिदाइका लागि काठमाडौं आएका परिवार र आफन्तीसँग टिकाटालो गरी घरबाट गरी निस्किए ।

श्रीमती, छोरा, कान्छा बुबासहित साला, साली र अरु आफन्तीहरु उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्मै छोड्न आए । तीन वटा ट्याक्सीमा आएका आफन्तीहरुले एयरपोर्टमै पुगेर माला र खादा लगाएर उनको बिदाइ गरे ।

परिवारसँग बिदा भएर करिब ९ बजेतिर विमानस्थल छिरे । पहिलो पटक वैदेशिक रोजगारमा जान लागेका चितवनका कृष्ण आफू पनि केही ‘नर्भस’ थिए । त्यसमाथि घरपरिवारमात्रै होइन, देशै छोडेर जानुपर्दाको केही पीडा र अलिअलि कमाउन थालेपछि जीवनले सहज गति लिन्छ कि भन्ने आशा पनि सँगै थियो । हातमा समाएको टिकट, भिसा र पासपोर्ट देखाउँदै अघि बढे । झोला चेकिङ गरेर उनी बोर्डिङ पास लिन गए । एयरपोर्टका कर्मचारीले कागजागत मागे । भिसा र टिकट हेरेपछि उनीहरु केहीबेर अक्मकिए । त्यसपछि त हो उनीहरुले भनेको, ‘तपाईंको यो टिकट र भिसा त नक्कली हो ।’

उनलाई विदेश पठाउने एजेन्टले भिसा भन्दै दिएको कागजात सबै नक्कली रहेछ । त्यो सुनेर भाउन्न छुटेर आयो । के गर्ने, के नगर्ने कुनै भेउ नै पाएनन् ।

आफूलाई स्वाभिमानमा उभ्याइरहेका खट्टा पनि लर्बरिन थालेपछि नजिकैको बेन्चमा गएर थचक्क बसे र दिग्दारीपूर्ण लामो स्वास ताने । ‘धेरै सपना बोकेर म विदेश जाने तयारीमा थिएँ, त्यो सबै सपना क्षणभरमै टुट्यो’, उनले भने ।

दोधारे मनस्थितिमै उनले आफूलाई विदेश पठाउने एजेन्ट विष्णुहरि बर्तौलालाई फोन लगाए । विष्णुहरि पनि कृष्णकै वडा चितवन राप्ती नगरपालिका–५ का हुन् ।

वैदेशिक रोजगारीकै क्रममा दुबईमा रहेका विष्णुहरिले कृष्णलाई मासिक ७० हजार कमाइने प्रलोभन देखाएर १ लाख ४० हजार रुपैयाँ लिएका थिए । उनैले भिसा भनेर पठाइदिएको कागजातका भरमा कृष्ण विदेश जान लागेका थिए ।

कृष्णले आँखाको आँसु पुछ्दै विष्णुहरिलाई भिसा र टिकट नक्कली भएको सुनाए । विष्णुले सुरुमा भिसा नक्कली भएको कुरा थाहा नभएजस्तै गरे । तर, उनलाई केही व्यवस्था नहुञ्जेल केहीबेर एयरपोर्टभित्रै बस्न भने ।

कृष्णले करिब पाँच घण्टा एयरपोर्टभित्रै कटाए । पछि त विष्णुहरि सम्पर्कमै आएनन्, फोन उठाउनै छाडे । त्यसपछि आफू ठगिएको थाहा पाएपछि रातको २ बजे एयरपोर्टबाट रुँदै निस्किए । ‘परिवारसँग बिदा भएर निस्किसकेको थिएँ’, उनले भने, ‘यस्तो होला भनेर सोचेकै थिइनँ । के भनेर घर फर्किने भनेर सोच्नै सकिनँ । त्यो रात म धेरै रोएँ ।’

काठमाडौंमै वेल्डिङको काम गर्दागर्दै कृष्णले राम्रो कमाइ नभएपछि विदेश जाने सोचाइ बनाएका थिए । त्यहीबेला एकजना दिदीमार्फत आफ्नै वडाका विष्णुहरिसँग चिनजान भएको उनी बताउँछन् । उनै विष्णुहरिले उनलाई भिसा पठाइदिनसक्ने सुनाएका थिए ।

‘मासिक ६० देखि ७० हजारमा जागिर लगाइदिने भनेर लोभ देखाए’, कृष्णले भने, ‘उसले मिठा कुरा गथ्र्यो, भाइ भनेर माया गरेजस्तो गर्थ्यो । म सजिलै त्यसको विश्वासमा परें ।’

सुरुमा भिसाका लागि भनेर ४० हजार मागेका थिए । त्यसको १० दिनपछि भिसा आयो भनेर कागजात पठाइदिए । त्यसपछि थप एक लाख रुपैयाँ मागे । कागजात सक्कली हो कि नक्कली हो भनेर सुरुमै हेर्न बुझ्न नखोजेका भने होइनन् । ‘भिसाबारे बुझ्न खोज्दा उसले ‘दाइको विश्वास नगर्ने रु’ भनेर उल्टो हकारेको थियो’, उनले भने, ‘उसको नियत त्यही बेला ठग्ने र दुःख दिने रहेछ भनेर बुझ्न सकिनँ ।’

यसबीचमा घर-काठमाडौं गर्दागर्दै थप १ लाखभन्दा बढी खर्च भइसकेको उनी बताउँछन् ।

कागजात नक्कली भएर फर्किइसकेपछि पनि अझै विष्णुहरिले बहानाबाजी गर्न नछोडेको कृष्ण बताउँछन् । ‘कागजात गलत परेछ भनेर सले अरु एक दिन कुर्न भन्यो । आज, भोलि उडाउँछु भन्दाभन्दै उसले एक हप्ता झुक्याइरह्यो’, उनले भने । विदेश उड्ने आशमै विमानस्थलबाट फर्किएको एकहप्तासम्म उनी घर गएका थिएनन् ।

अहिले कृष्ण उनले आफूले विदेश जादा खर्च भएको २ लाख ४० हजार रकम फिर्ता दिन भनिरहेका छन् । भन्छन्, ‘विदेश जान्छु भनेर हिडेको मान्छे, म रुदै फर्कनु प¥यो । म चाहन्छु यस्तो फेरि कसैलाई नहोस् ?’

(अनलाइन खबर)