८ कार्तिक २०८१, बिहिवार

चार वर्षपछि पूर्वी नाकाबाट तेस्रो देशका पर्यटकको आवागमन खुला

२३ साउन २०८१, बुधवार
Image

झापा, २३ साउन । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भूटान बाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालय पानीटंकीबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आए लगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो ।

“यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो,” उहाँले भन्नुभयो–“त्यसपछि उताबाट अलिअलि गर्दै पर्यटक आउन थाले । हामीले पनि नेपालबाट पर्यटक पठाउन थाल्यौं ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए तापनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यहीकारण पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटन व्यवसायीहरुले पर्यटक आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्ड लगायतका दुई दर्जनभन्दा बढी नागरिक भारतीय स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । नेपालबाट पनि उत्तिकै संख्यामा पर्यटकहरु यस अवधिमा भारत गएका छन् ।

काँकडभिट्टा नेपाल प्रवेशको पूर्वीनाका हो भने पानीटंकी भारत पश्चिम बंगालतर्फको नाका हो । काँकडभिट्टा र पानीटंकी दुबै सीमामा आआफ्ना मुलुकका अध्यागमन कार्यालय रहेका छन् । 

भारतले पानीटंकीस्थित अध्यागमन कार्यालयबाट बिगतमा जस्तो “अनअराइभल भिसा” भने जारी गरेको छैन । नेपाल प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल जाने अनुमति दिइरहेको बताइरहेको छ ।

लामो अवधिसम्म भारतीय अध्यागमनले सीमामा पर्यटकलाई रोक्दा नेपालको पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोर्नु परेको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो ।

पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक सहयोग पुग्ने उहाँले बताउनुभयो ।