८ कार्तिक २०८१, बिहिवार

एउटा हेलिकोप्टर दुर्घटना, अर्को इमर्जेन्सी ल्यान्डिङ

२३ साउन २०८१, बुधवार
Image

झापा, २३ साउन । एक पछि अर्को हवाई दुर्घटनाले नेपाली आकाश असुरक्षित छ भन्ने आशंकालाई फेरि बल पुग्नेगरी आज हेलिकोप्टर दुर्घटना भएको छ । 

चार जना चिनिया नागरिक लिएर काठमाडौंबाट उडेको एयर डाइनेस्टीको एउटा हेलिकोप्टर आज अपराह्न नुवाकोटको शिवपुरीमा दुर्घटना भएको हो ।

दुर्घटनामा पाइलटसहित पाँचै जनाको मृत्यु भएको छ ।

केही दिनअघि काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको जहाज काठमाडौंमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । 

आजै अन्नपूर्ण एयरलायन्सको अर्को हेलिकोप्टर काठमाडौंबाट वैतडी जाँदै गर्दा बाँकेको सोनारीमा आकस्मिक अवतरण गराउनु परेको छ । 

सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।