८ कार्तिक २०८१, बिहिवार

प्रभु बैंक प्रकरण

सिटौला नौ दिनदेखि सम्पर्कविहीन, अपहरणमा परेको परिवारको दावी

२५ साउन २०८१, शुक्रवार
Image

झापा, २४ साउन । प्रभु बैंकको विर्तामोड शाखाबाट निक्षेपकर्ता मञ्जुकुमारी नेपालको एक करोडभन्दा बढी रकम खाताबाटै गायव भएको प्रकरणमा सरोकारवालाहरुको भिन्नाभिन्नै दावी र माग सार्वजनिक हुन थालेको छ ।

घटना सार्वजनिक भएको नौ दिन बितिसक्दा समेत घटनाको वास्तविकता यकिन हुन सकेको छैन भने परस्पर विरोधी दावीहरुले घटनालाई थप रहस्यमय बनाउँदै लगेको छ ।

यसैबीच, बैंकका मार्केटिङ अफिसर (सुपरभाइजर) पदमा कार्यरत प्रमोद सिटौलाकी पत्नी एलिसा बुढाथोकीले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी आफ्ना पति ‘अपहरणमा परेको’ दावी गर्नु भएको छ ।

‘साउन १६ विहान ८ बजेर ३० मिनेटको समयमा प्रमोद सिटौलालाई टिकाराम नेति, उहाँको दाजु स्वागत नेपाल र तुलसी उप्रेतीले घरबाटै लगेर वेपत्ता बनाएको’ भद्रपुर–७ निवासी बुढाथोकीले जिकीर गर्नु भएको छ ।

३४९७ नम्बरको खैरो रंगको कारमा हालेर लगिएका सिटौला त्यसपछि हाल (नौ दिन)सम्म घर नफर्किएको बुढाथोकीले पत्रकार सम्मेलनमा वितरण गर्नु भएको विज्ञप्तिमा उल्लेख छ । उहाँले पत्रकार सम्मेलनमा यही कुरा भन्नुभयो ।

उहाँले सिटौलालाई खोजतलास गरी ल्याइदिन सहयोगका लागि नेपाल सरकार, पत्रकार, मानवाधिकारबादी लगायत सबैमा आग्रह समेत गर्नु भएको छ ।

सिटौला वेपत्ता भएको विषयमा किटानी जाहेरी दिदा प्रहरीले लिन नमानेको र पछि प्रहरी आफैले अर्कै निवेदन लेखेर दर्ता गरेको बुढाथोकीले बताउनु भएको छ ।

बैंकमा भएको घटनाको निष्पक्ष छानविन गर्न र त्यसमा दोषी ठहरिए आफ्ना पतिलाई समेत कानूनी कार्वाही हुनुपर्ने आफ्नो धारणा रहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।


प्रभु बैंकमा मञ्जुकुमारी नेपालले राख्नु भएको रु. एक करोडभन्दा बढी निक्षेप गायव पारेको भनेर सिटौलामाथि लागेको आरोप सही हो कि गलत भन्ने विषयमा विज्ञप्ति मौन छ ।

बैंकबाट रकम गायव भएको घटना सार्वजनिक भएको दिनदेखि बैंकका कर्मचारी सिटौला सम्पर्कविहीन हुनुहुन्छ । निक्षेपकर्ताका पति टिकाराम नेति लगायतसँग घरबाट बाहिरिएको भनिएका बैंक कर्मचारी सिटौला त्यसपछि एउटा चिया पसलमा नेति र उहाँका दाजु स्वागत नेपालसँग लामै गफिएको भिडियो भने सामाजिक सञ्जालहरुमा सार्वजनिक भइसकेको छ ।

उक्त भिडियोमा नेति र उहाँका दाजु स्वागत नेपालले सिटौलालाई बैंक कारोवार र निक्षेपका बारेमा विभिन्न केरकार गरिरहेको देखिन्छ भने उक्त दृश्य अर्का एक व्यक्तिले लुकेर रेकर्ड गरिरहेको जस्तो देखिन्छ ।

उक्त भिडियोमा सिटौलाले बैंकमा आफुले नै प्राविधिक गडबडी गराएको खुलासा गरिरहेका छन् भने निक्षेप अर्को खातामा आफैले सुटुक्क सारिदिएको भन्दै आश्वस्त पार्न खोजिरहेका छन् ।

बैंकमा रकम गायव भएको विषयमा जानकारी दिन केही दिन अघि निक्षेपकर्ता मञ्जुकुमारी नेपालका पति टिकाराम नेतिले समेत एउटा पत्रकार सम्मेलन गर्नु भएको थियो ।

उक्त पत्रकार सम्मेलनमा नेतिले बैंक कर्मचारी सिटौला आफ्नो होटल (मम पसल)मा कुराकानी गर्ने क्रममा ब्याग छाडेर सम्पर्कविहीन भएको जिकीर गर्नु भएको थियो ।

नेति पक्षले भने परिवार र बैंक पक्षको मिलेमतोमा सिटौलाई भगाइएको हुनसक्ने आरोप लगाएको पाइएको छ ।