२ कार्तिक २०८१, शुक्रवार

आदिबासी जनजातिको मुद्धा उठाउने पत्रकार कन्दङ्वाको निधन

२९ साउन २०८१, मङ्गलवार
Image

झापा, २९ साउन । पत्रकारितामा आदिबासी जनजातिको मुद्धा उठान गर्ने अगुवा पत्रकार केपी कन्दङ्वाको आज निधन भएको छ ।

तेह्रथुमको आठराईस्थित निजी निवासमा ७३ वर्षको उमेरमा आज उहाँको निधन भएको हो ।

वि.सं २००८ फागुन २० गते तेह्रथुममा जन्मनु भएको उहाँले झापामा रहेर २०४० सालदेखि पत्रकारिता गर्नु भएको यलम्बर टाइम्सका सम्पादक दिपीन राईले बताउनुभयो ।

पत्रकार कन्दङ्वा पत्रकार मात्र नभएर साहित्यकार समेत हुनुहुन्थ्यो । उहाँका कथा र कविता प्रकाशित छन् । ‘पञ्चायतकालमा उहाँलाई विद्रोही कविको रुपमा चिनिन्थ्यो,’ राईले भन्नुभयो–‘पहिचानको मुद्धामा कलम चलाउने एउटा योद्धा हुनुहुन्थ्यो । उहाँको अभाव अब खट्किनेछ ।’

उहाँले २०४७ सालदेखि जनचाहना साप्ताहिकको सम्पादन गर्नु भएको थियो । मुक्ति आवाज, ब्लास्ट दैनिक, विवेचना दैनिक, पूर्वाञ्चल दैनिक, पूर्वेली खबर साप्ताहिक लगायतका पत्रपत्रिकामा उहाँका लेख प्रकाशित भएका थिए ।

राजनीतिक रुपमा उहाँ जनमुक्ति पार्टीसँग निकट हुनुहुन्थ्यो । पहिचानबादी नेताहरु एमएस थापा, गोरेबहादुर खपांगी, गोपाल गुरुङ, काजीमान कन्दङ्वा लगायतसँग उहाँको निकटता थियो । 

उहाँले विर्तामोड, धरान, बुटवल र काठमाडौंबाट पत्रिका प्रकाशित गर्नुहुन्थ्यो ।