२ कार्तिक २०८१, शुक्रवार

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

३१ साउन २०८१, बिहिवार
Image

झापा, ३१ साउन ।  पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको अध्यागमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर २२५ जना पर्यटकहरुको आवागमन भएको छ ।  सोही अवधिमा १२३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने १०२ जना बर्हिगमन भएका छन् । 

कार्यालयका प्रमुख मोहन पनेरुले बंगलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताउनुभयो । उहाँले नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने बताउनुभयो । “धेरै यो नाकाबाट आउने पर्यटक बंगलादेशी हुन्छन्”, उहाँले भन्नुभयो, “आन्दोलनका कारण उहाँहरुलाई नेपाल प्रवेशमा नाकामा कडाई गरिएको छ । त्यहाँ सहज वातावरण भएसँगै यता सहज भइहाल्छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए तापनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो । 

यो अवधिमा भूटानी,अमेरिका, स्वीजरल्याण्ड, बंगलादेश, मलेशिया, रोमानिन्या, साउथ कोरिया, सिंगापुरलगायत विभिन्न देशका पर्यटकहरुको आगमन भएको उहाँले बताउनुभयो ।