२ कार्तिक २०८१, शुक्रवार

मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

२ भदौ २०८१, आइतवार
Image

झापा, २ भदौ  वैदेशिक रोजगारीका लागि छ वर्ष अघि ओमान जानु भएकी मेचीनगर नगरपालिका वडा नं. १० की ४५ वर्षीया बिनादेवी कँवर डेढ वर्षदेखि उतैको एक अस्पतालमा अलपत्र हुनु भएको छ ।

ओमनको राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सुल्तान काबुस अस्पतालमा उहाँ डेढ वर्षदेखि अचेत अवस्थामा रहेको छोरा सञ्जय कँवरले बताउनु भयो ।

“आमा ओमानको अस्पतालमा बेहोश अवस्थामा हुनुहुन्छ भनेर खबर पाएका छौं,” छोरा सञ्जय कँवरले भन्नुभयो–“नेपाल ल्याउन रु. १३ लाख खर्च लाग्छ रे । हामीले त्यत्रो पैसा कहाँबाट जुटाउनु ?” उहाँले आफ्नी आमालाई नेपाल ल्याउन सहयोगका लागि अपिल गर्नु भएको छ ।

विपन्न परिवारकी विनादेवी कँवर वि.सं. २०७५ सालमा दलालमार्फत भारतको बाटो भएर घरेलु कामदारका लागि ओमान पुग्नु भएको थियो । दुई वर्ष अघि सुगर र प्रेसरका कारण पक्षाघातले थलिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । हालसम्म उहाँ अचेत अवस्थामै रहनु भएको ओमानस्थित नेपाली दूताबासका कर्मचारीहरुले जानकारी दिएका छन् ।

ओमानस्थित नेपाली दूताबासका कन्सुलर गोविन्दप्रसाद आचार्यले बिनादेवीको सम्भव सबै उपचार भइरहे तापनि स्वास्थ्यमा सुधार हुन नसकेको जानकारी दिनु भएको छ । रिटर्नी फेडेरेसन नेपालका कोशी प्रदेश अध्यक्ष धर्मेन्द्र खड्काले भन्नुभयो–“दूताबासका कन्सुलर गोविन्द्रप्रसाद आचार्य सरसँग भिडियो कलमा कुराकानी गर्दा उहाँले बिनादेवी दिदीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सुनाउनुभयो ।”

बिनादेवीलाई स्वदेश ल्याउनका लागि नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का संघीय सांसद् विश्वप्रकाश शर्माले पहल गरिने बताउनु भएको छ । महामन्त्री शर्माले बिनादेवीको मेचीनगरस्थित घर पुगेर परिवारका सदस्यहरुलाई भेट्नु भएको छ ।

महामन्त्री शर्माले ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग फोनमा कुराकानी गरेर बिनादेवीलाई स्वदेश ल्याउन आवश्यक पहल गर्न आग्रह गर्नु भएको छ । शर्माले बिनादेवीका छोरा सञ्जयलाई ओमान पठाउने र आमाको अवस्था हेरेर स्वदेश ल्याउने उपायका विषयमा पहल भइरहेको बताउनुभयो ।

बिनादेवीका छोरा सञ्जय कँवरलाई ओमान जाने, आउने र बस्ने खर्चको व्यवस्थापन गरिने महामन्त्री शर्माले बताउनु भएको छ । बिनादेवीका दुई छोरा, एक छोरी र पति छन् । 

जेठा छोरा सञ्जय कँवर मेचीनगर–७ स्थित राज चिया बगानमा मजदुरी गर्दै आउनु भएको छ भने कान्छा छोरा सुरज कँवर काठमाडौंमा मजदुरी गर्नुहुन्छ । छोरी अनिता कँवरको विवाह भइसकेको छ । बिनादेवीका पति चिनीलाल कँवर समेत ज्याला मजदुरी गर्नुहुन्छ ।